भारतीय जंगलमा नेपालीमाथि गोली प्रहार, एकको मृत्यु



र्दिया । बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको घना जंगलमा निहुरो टिप्न गएका एक नेपाली माथि गोली प्रहार भएको छ । बिहीबार बेलुकी निहुरो टिप्न गएका गुलरिया नगरपालिका ३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

गोली लागेर भाग्दै घर नजिक पुगेका घाइते गोडिया केहीबेर पछि बेहोस भएका थिए । उनी होसमा आएपछि घरमा फोन गरी आफन्तीलाई बोलाएका थिए ।

राति नै उनलाई एम्बुलेन्समा उपचारका लागि गुलरिया अस्पताल ल्याइएको थियो । अत्याधिक रगत बगेका कारण उनको मृत्यु भएको प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए । उनलाई कसले गोली हानेको हो अनुसन्धान भइरहेको उनले जनाए ।

स्रोतका अनुसार भारतीय वन रक्षकले गोली प्रहार गरेको आशंका गरिएको छ । कतरनिया वन्यजन्तु आरक्ष भएका कारण अनधिकृत रुपमा जंगल प्रवेश गरेको भन्दै वन रक्षकले गोली हानेको शंका गरिएको छ । उनको शव गुलरिया अस्पतालमा शव परीक्षण पछि शुक्रबार दिउँसो आफन्तीले बुझेर लगेका छन् ।

सम्बन्धित समाचार