पाँचथरको फालेलुङमा पहिरो : १ जनाको मृत्यु ,२ जना बेपत्ता



अविरल वर्षापछि माथिबाट खसेको पहिरोले घर पुरिँदा पाँचथरको फालेलुङ गाउँपालीका ७ मा एक जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।

गएराति सवा १० बजेतिर सिदिन बजारनजिकै रहेको रुपलाल मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

पहिरोमा ४२ वर्षीय रुपलाल मगर, उनको ३८ वर्षीय श्रीमती गोमा मगर र १९ वर्षीय भतिजी एलिसा मगर बेपत्ता भएका थिए। आज बिहान रुपालालको शव फेला परेको र अरू दुई जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए ।

रूपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोबाट उछिट्टिएर बाँच्न सफल भएका छन्। घर माथिबाट झरेको पहिरोले ढुंगामाटोले बनेको घर तथा गोठ बगाएको फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले जानकारी दिए । घटनास्थलमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी गरिरहेको छ।

 

सम्बन्धित समाचार