भत्किएको एक वर्षसम्म पुल बनेन



उदयपुर । भत्किएको एक वर्ष पुग्दा पनि त्रियुगा नदीको पक्की पुल पुनर्निर्माण हुन सकेको छैन । चौदण्डीगढी नगरपालिका– ५ सिवाईघाटमा निर्माण सम्पन्न हुनै लाग्दा पुल भत्किएको थियो । यो विषयमा गरिएको अध्यययन प्रतिवेदन अझै नआउँदा निर्माणमा अन्योल भएको हो ।

बाढीले २०७८ असारमा निर्माणको अन्तिम चरणमा रहेको उक्त पुल भत्काइदिएको थियो । बाढीले सञ्चालन गर्ने तयारीमा रहेको पुलको दुई स्पान (३ स्लाब) भत्काएर पानीमा झरेको र एउटा बगाएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, क्षेत्रीय सडक डिभिजनलगायतका टोलीले अनुगमनरनिरीक्षण गरेका थिए । अनुगमनपछि पुल्चोक इन्जिनियरिङ कलेजलाई अध्यययन गरी प्रतिवेदन तयार पार्ने जिम्मा दिइएको थियो । तर एक वर्ष बित्दा पनि उक्त प्रतिवेदन आएको छैन । त्यसैले पुन ः निर्माण वा अन्य विकल्प के गर्ने अन्योल झएको गाईघाट दित्तेल सडक आयोजना प्रमुख इन्जिनियर गोपाल खकुरेलले वताए । उनले भने,‘मन्त्रालय, विभाग, क्षेत्रीय सडक कतैबाट पनि अहिलेसम्म स्पष्ट निर्देशन नहुँदा केही गर्न सकिएन ।’ बाढीले भत्काउनु एक साता अघि पुलबाट सर्वसाधारणलाई पैदल यात्राको अनुमति दिइएको थियो ।

पक्की पुलबाट नदी वारपार गर्ने धोको यो वर्षामा पनि सम्भव नभएको स्थानीय धमीनीथान सामुदायी वन उपभोक्ता समिति अध्यक्ष शान्ता हमालले बताइन् । हिउँदमा वारपार गर्न सकिने त्रियुगा नदी वर्षामा तर्न सकिँदैन । डुंगाकै भर पर्नुपर्ने हुन्छ । झन्डै १२ वर्ष लगाएर पुल निर्माण गरिएको थियो । पुल नहुँदा चौदण्डीगढी नगरपालिका ५, ९ र १० का स्थानीय वर्षाका ३ महिना डुंगाबाटै नदी तर्न बाध्य छन् । नगरपालिकाको केन्द्र बेल्टार बजारसम्म पुग्न यी वडावासी डुंगाको विकल्पमा सप्तरीको फत्तेपुर वा सदरमुकाम गाईघाट हुँदै आइजाइ गर्नुपर्ने हुन्छ । घुमेर बेल्टार बजार आउनेजाने गर्दा समय र लागतसमेत बढ्ने चौदण्डीगढी नगरपालिका– ५ सुन्दरपुरका वडाध्यक्ष तुलसीराम ढकालले बताए ।

उदयपुरको सबैभन्दा ठूलो नदी त्रियुगा हो । पुल नहुँदा उदयपुरको मुख्य व्यापारी केन्द्रमध्ये पर्ने बेल्टार बजार ओझेलमा छ । बजारसँग जोडिएको दक्षिण खोटाङका चिसापानी, सिमपानी र खोटाङ बजारलाई समेत असर परेको छ । पुल निर्माणसँगै यी बजारहरू पूर्वपश्चिमा महेन्द्र राजर्माग भएर राष्ट्रिय सडक सञ्जालमा आवद्ध हुन्छ ।

बाढीले क्षति पुगेको पुलमा २५/ २५ मिटरका १२ स्पान छन् । पुल ३ सय ७ मिटर लम्बाइ र ५ मिटर चौडाइ छ । पुलको निर्माण महालक्ष्मीरलोकप्रिय जेभी कन्स्ट्रक्सन कलाकी काठमाडौंले गरेको हो । पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको थियो । ९ करोड ७६ लाख रुपैयाँको लागतमा सुरु गरिएको पुल पुनर्मूल्यांकन गर्दा भत्किँदाको समय ११ करोड २७ लाख रुपैयाँ पुगेको आयोजनाले जनाएको छ ।

 

सम्बन्धित समाचार