क्यानडासँगको दोस्रो एक दिवसीय अभ्यास खेलमा नेपाल ८३ रनले पराजित



काठमाण्डौ । नेपाल दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली क्यानडासँग ८३ रनले पराजित भएको छ । योसँगै दुई खेलको एक दिवसीय श्रृङ्खला क्यानडाले जितेको छ । पहिलो खेल वर्षाका कारण प्रभावित भएको थियो ।

जितका लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा १ सय ५ रनमा अलआउट भयो । नेपालका देव खनालले सर्वाधिक २६ रन बनाए । ओपनर कुशल भुर्तेल १ रन र पवन सरार्फ १४ रनमा आउट भए । बसिर अहमद, विनोद भण्डारी र आदिल अन्सारीले समान १३ रन जोडे । सन्दीप लामिछाने ११ रनमा आउट भए ।

क्यानडाका अमर खालिद, सलमान नजर, रोमेल शहजाद, साद विन जाफर र हर्ष ठकरले दुईरदुई विकेट लिए । त्यसअघि किङ्ग सिटीमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निधारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

क्यानडाका श्रेयस मोभा र अमर खालिदले अन्तिम विकेटका लागि ७० रनको अविजित साझेदारी गरेका थिए । श्रेयस ५० रन र खालिद ३० रनमा अविजित रहे । क्यानडाका ओपनर आरोन जोनसनले ४४ रन जोडे।

नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २ तथा बसिर अहमद, आदिल अन्सारी र करण केसीले एकरएक विकेट लिए । नेपालले यसअघि क्यानडामा स्थानीय क्लब ओन्टारियोसँग भएको दुई वटा अभ्यास खेलमा ओन्टारियोलाई हराएको थियो ।

क्यानडाबाट नेपाल स्कटल्यान्ड जानेछ । स्कटल्यान्डमा त्रिदेशीय एक दिवसीय श्रृङ्खला हुनेछ । विश्व कप क्रिकेट लिग–२ मा नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र एक बराबरीकासाथ १५ अङ्कसहित पाँचौँ स्थानमा छ ।

सम्बन्धित समाचार