डेंगु संक्रमणबाट संखुवासभामा एक जनाको मृत्यु



डेंगुको संक्रमणबाट संखुवासभाको चैनपुर नगरपालिका–५ की सीतादेवी न्यौपानेको मृत्यु भएको छ । जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा ५६ वर्षीया न्यौपानेको बिहीबार मृत्यु भएको डा. पंकज गुप्ताले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । खाँदबारी ल्याइएपछि परिक्षण गर्दा उनलाई डेंगु पुष्टि भएको थियो । उच्च ज्वरो, रुघाखोकीसमेतको लक्षण देखिएको उनको उपचारमा ढिलाइ हुँदा ज्यान गएको अस्पतालले जनाएको छ । डेंगुसँगै उनलाई निमोनिया पनि देखिएको थियो ।

असारमा मात्रै १७ जना डेंगु संक्रमित भेटिएका छन् । यो रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले सचेत हुन अस्पतालले आग्रह गरेको छ । डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

डेंगुका लक्षणहरू
एक्कासि ज्वरो आउने
आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रुचि नलाग्ने
थकान महसुस हुने
टाउको, मांसपेशी तथा जोर्नी दुख्ने
वाकवाकी लाग्ने वा वान्ता हुने ।

सुरक्षित रहने तरिका
लामखुट्टेको टोकाइबाट बच्न पुरा शरीर ढाक्ने कपडा लगाउने र घरबाहिर जाँदा अनिवार्य रुपमा मास्क लगाउने
घर वरपर प्लास्टिक, सीसा, खपटा, चिया खाएर फालिएका कप, नरिवलका बोक्रा आदि भए सफा गर्ने र पानी जम्न नदिने
खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
पानीको नाली, ढलपोखरीमा हप्ताको २ दिन डढेको मोबिल वा मट्टितेल छर्कने
खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने
पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने
कुलरमा हप्ताको एक वा दुई पटक मट्टितेल हाल्ने
बेलाबेलामा साबुपानीले मिचिमिची हात धुने र भौतिक दूरी कायम गर्ने
सुत्ने बेला झुलको प्रयोग गर्ने
डेंगुको लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा उपचारका लागि जाने।

सम्बन्धित समाचार