खोला किनारमा फेला परेको शव पहिचानमा समस्या



विराटनगर । मोरङको रंगेली नगरपालिका १ स्थित केसलिया खोलाको किनारमा शनिबार बिहान फेला परेको शवको पहिचानमा समस्या भएको छ।

खोला किनारमा लडेको जेरीको रुखमा अड्किरहेको अवस्थामा भेटिए पनि शव महिलाको हो कि पुरुषको भनेर छुट्याउन नसकिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

उनकाअनुसार सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएको शवको पहिचानमा समस्या भइरहेको हो। खोला किनारमा भेटिएको शवको पहिचान भएको छैनु, श्रेष्ठले भने, शव नै महिलाको हो कि पुरुषको भन्ने पनि छुट्याउन गाह्रो परिरहेको छ।ु

कुहिएका कारण मृतकको पहिचान हुन नसकेको उनले बताए। निक्कै समयअघि मृत्यु भएको र शव भने कुहिएपछि भर्खरै मात्र भेटिएका कारण यस्तो अवस्था आएको उनको भनाइ छ।

रुखमा अड्किएर रहेको शव बाढी आएका बेला खोलाले बगाएर ल्याएको हुनसक्ने डीएसपी श्रेष्ठले बताए। स्थानीयले खोला किनारमा बाढीले लडाएको रुखमा अड्किएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपाने नेतृत्वको टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान थालिसकेको छ।

त्यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका ८ मा अघिल्लो दिन मृत फेला परेका पुरुषको पनि पहिचान हुन सकिरहेको छैन। पूर्वाञ्चल विश्वविद्यालयनजिकको बाँझो खेतमा खोप्टो परेको अवस्थामा अन्दाजी ३५,३६ वर्षीय पुरुषको शव शुक्रबार दिउँसो भेटिएको थियो।

स्थानीयले प्रहरीलाई दिएको जानकारीअनुसार मृत फेला परेका पुरुष बिहीबार साँझ मात्रै त्यो ठाउँमा देखा परेका थिए।

स्थानीयले पनि मृतकलाई चिन्न नसकेको र त्योभन्दा अघि उनीहरूले ती पुरुषलाई कतै पनि नदेखेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर घटनाका बारेमा अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए।

 

सम्बन्धित समाचार