आगामी भदौमा नेपाल ल्याइँदै टी-२० विश्वकप ट्रफी



काठमाडौँ । आगामी अक्टोबर १६ मा शुरु हुने टी २० विश्वकप क्रिकेटको ट्रफी नेपालमा पनि ल्याइने भएको छ। आगामी भदौ दोस्रो साता नेपाल ल्याइने ट्रफी नेपालमा २ दिन राखिने जनाइएको छ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रेस विज्ञप्ति जारी गर्दै विश्वकप ट्रफीलाई विश्व भ्रमण गराउने र त्यसै क्रममा ट्रफी नेपाल ल्याइने जानकारी गराएको छ। आइसिसीले ट्रफी आगामी भदौ १४ र १५ (अगस्ट ३० र ३१) मा काठमाडौंमा राखिनेछ। उक्त दिन समर्थकहरूले ट्रफी हेर्न र ट्रफीसँग तस्वीर खिचाउन पाउनेछन्।

क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रोपटक ल्याउन लागिएको हो। यसअघि २०१८ मा विश्वकप ट्रफी नेपाल ल्याइएको थियो। विश्वकपको १०० दिने ट्रफी टुरको औपचारिक शुरुवात शुक्रबारबाट शुरु भएको छ। ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिनेछ।

विश्वकपको ट्रफी निशान कम्पनीले विश्वभर प्रदर्शन गर्नेछ। टी २० विश्वकप २०२२ शुरु हुन अब १०० दिन बाँकी रहेको छ। अष्ट्रेलियाका ७ शहरमा आयोजना हुने विश्वकप नोभेम्बर १३ सम्म चल्नेछ। विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

सम्बन्धित समाचार