प्रदेश १ मा प्रतिष्ठान तथा स्मृति ट्रष्टका नाममा करोडौं रकम विनियोजन



विराटनगर । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब बढीको बजेट ल्याएको प्रदेश १ सरकारले प्रतिष्ठान तथा स्मृति ट्रष्टका नाममा करोडौं रकम विनियोजन गरेको छ।

प्रदेशको प्राथमिकताको क्षेत्रमा खर्चिनुपर्ने बजेटको ठुलो हिस्सा सरकारले विभिन्न प्रतिष्ठान, स्मृति ट्रष्ट तथा फाउण्डेशनका लागि छुट्याएको हो।

आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारले ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको छ।

तर त्यसमा विकासका योजनासँगै प्रतिष्ठान तथा स्मृति ट्रष्टको नाममा विभिन्न कार्य प्रयोजनका लागि भनेर ८ करोडभन्दा बढी रकम छुट्याईएको देखिएको छ।

प्रदेश सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयमार्फत् मात्रै प्रदेशभित्रका प्रतिष्ठान, स्मृति ट्रष्ट, फाउण्डेशन तथा अन्य विभिन्न संघसंस्थालाई अनुदान स्वरूप ३ करोड छुट्याईएको छ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यक्रम पुस्तिकामा उक्त विषय उल्लेख छ।

मन्त्रालयबाट प्राप्त विवरण अनुसार आगामी आर्थिक वर्षमा सरकारले सङ्खुवासभाको सहिद स्मृति प्रतिष्ठानलाई पनि भवन निमार्णका लागि भनेर २० लाख छुट्याईदिएको छ।

यस्तै आगामी आर्थिक वर्षको बजेटमा सरकारले ताप्लेजुङको फुङलिङ नगरपालिका ५ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानलाई ५० लाख, झापाको चारपानेस्थित सहिद स्मृति प्रतिष्ठानलाई २० लाख, हल्दीबारी २ चतुरानस्थित राजवंशी प्रतिष्ठानलाई १५ लाख, ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका १ कटुन्जेस्थित सहिद हरि नेपाल प्रतिष्ठानलाई २० लाख र पाँचथरको फिदिम ४ स्थित सहिद प्रतिष्ठानलाईसमेत भवन तथा सभाहल निमार्णका लागि भनेर १५ लाख छुट्याईदिएको छ।

झापाको अर्जुनधारा ८ स्थित जनयोद्धा प्रतिष्ठानलाई २० लाख, शिवसताक्षीस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानलाई ५० लाख, संखुवासभाको भोटखोलास्थित सहिद स्मृति प्रतिष्ठानलाई २० लाख, संखुवासभाकै चैनपुरस्थित वासुशाक्य स्मृति प्रतिष्ठानलाई २० लाख र धनकुटाको पुष्पलाल स्मृति ट्रष्टलाई पनि सरकारले १० लाख विनियोजन गरिदिएको छ।

सत्ता र शक्तिको दुरुपयोग स्वरुप स्मृति ट्रष्ट तथा प्रतिष्ठानका नाममा गरिएका यस्ता विनियोजनले कुनै आउटकम नदिने अर्थशास्त्री अर्जुन बराल बताउँछन्।

कार्यकर्ता पोस्ने ध्येयले गरिएका रकम विनियोजनले कुनै प्रतिफल दिँदैन, उनी भन्छन्, सहिद प्रतिष्ठानलाई सहयोग गर्नु सकारात्मक विषय हो। तर, अहिले नामै नसुनेका ट्रष्टहरुले पनि लाखौं खेलाइरहेका छन्। यो श्रोत र साधनको दुरुपयोग हो।

गैरबजेटरी खर्चलाई निरुत्साहित पार्दै पूँजीगत खर्चमा बढाउने बिषयमा जोड दिँदै आएको प्रदेश सरकारले प्रदेशभरिका प्रतिष्ठान तथा स्मृति ट्रष्टका नाममा ८ करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको सरकारी तथ्यांक छ।

तथ्यांक अनुसार ओखलढुङ्गाको लिखु ४ यसमस्थित टंकराज इश्वरी प्रतिष्ठानलाई आगामी आर्थिक वर्षमा सरकारले भवन निर्माणका लागि भनेर ५० लाख दिएको छ।

यसबाहेक आगामी आर्थिक वर्षको बजेटबाट रावावेशी(२ स्थित मनमोहन स्मृति प्रतिष्ठानले ५ लाख, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१ स्थित बिपी स्मृति ट्रष्टले ५० लाख र मोरङको पिताजी कृष्णप्रसाद सेवा गुठी तथा बेलबारीस्थित जनयुद्ध स्मृति प्रतिष्ठानले ५०/५० लाख पाएको छ।

सुनसरीको इटहरी २ मा रहेको जेबी टुहुरे र भोजपुरको मिराराई फाउण्डेशनले पनि आगामी आर्थिक वर्षको बजेटबाट क्रमशः ३० र १० लाख पाउने भएका छन्।

सम्बन्धित समाचार