पाँचखपन नगरपालिकाको सार्वजनिक सुनुवाई र पुर्ण खोप घोषणा कार्यक्रम सम्पन्न



संखुवासभाको पाँचखपन नगरपालिकाको सार्वजनिक सुनुवाई, योजना सार्वजनिक तथा पुर्ण खोप शुश्चितता कार्यक्रम सम्पन्न भएको छ । शनिबार वाना सामुदायिक भवनको सभाहलमा नगरपालिकाका प्रमुख विपिन राईको अध्यक्ष्यतामा कार्यक्रम सञ्चालन भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रम संखुवासभा मल्टिमिडिया प्रा.लि.को सहजीकरणमा भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले आर्थिक वर्ष ७८/७९ मा नगरपालिकाले गरेको सेवा प्रवाह तथा योजना सञ्चालनको विषयमा प्रगति समिक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रमको सहजीकरण गरेको संखुवासभा मल्टिमिडिया प्रा.लि.का प्रबन्ध निर्देशक मेघराज तामाङले नागरिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै नगरप्रमुख राईले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट तथा योजना सार्वजनिक गरेका थिए ।

पाँचखपन स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित पूर्ण खोप घोषणा कार्यक्रममा नगरभित्रका बालबालिकालाई पूर्ण खोप लगाउन गरेका प्रयास तथा चुनौंतीको बारेमा घनेन्द्र पौडेलीले प्रस्तुति राखेका थिए ।

सार्वजनिक सुनुवाईका क्रममा सेवाग्राहीबाट आएका प्रश्नको जवाफ दिदै प्रमुख राईले आगामी दिनमा नगरपालिकाको समग्र विकासका लागि आएका सुझावहरुलाई लिएर अघि बढ्ने बताए । यस क्रममा सबैको साथ र सहयोगको समेत आग्रह गरेका छन् ।

यस्तै जवाफ दिदै प्रमुख प्रशासकीय अधिकृत खतिवडाले सेवाग्राहीबाट नगरका कर्मचारी प्रति आएका गुनासाहरुलाई सुक्ष्म ढंगले अध्ययन गर्ने बताएका थिए । सेवा प्रवाहको क्रममा कोही कसैले सेवाग्राहीलाई अनावश्यक दुख दिएको पाइए शुन्य सहनशिलताका साथ कारबाही गरिने जनाए ।

कार्यक्रममा प्रदेशसभा सदस्य सरिता खड्का, जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, नगरपालिकाका उपप्रमुख सुमुना श्रेष्ठ, महिला स्वास्थ्यस्वयमसेविका, स्वास्थ्यकर्मी, कर्मचारी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार