उपभोक्ता समितिहरुलाई योजना सञ्चालन विधि सिकाउँदै चिचिला गाउँपालिका



चिचिला । चिचिला गाउँपालिकाका योजना उपभोक्ता समितिहरुलाई गाउँपालिकाले योजना सञ्चालन विधि सिकाउन सुरु गरिएको छ । उपभोक्ता समितिहरुबाट सञ्चालन हुने योजनाहरु सञ्चालनको क्रममा आउने जटिलताहरुको समाधान गर्ने उद्देश्यका साथ उपभोक्ता समितिहरुलाई तालिम दिन सुरु गरिएको हो ।

उपभोक्ता समितिहरुले सम्झौतादेखि निकाशासम्मका प्रकृयाहरु थाहा नहुने र पटक पटक पालिका धाउनु पर्ने समस्या हटाउन प्रत्येक वडाका उपभोक्ताहरुलाई तालिमको ब्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी दिनुभयो । योजना सञ्चालन गर्ने क्रममा सम्झौता गर्दा, अनुगमन गराउदा तथा सम्पन्न प्रतिबेदन तयार गर्दा उपभोक्ता समितहरुले सास्ती भोग्नु परेको अनुभव भएकोले समितिलाई तालिम दिईएको उहाँले स्पष्ट पार्नुभयो ।

कत्तिपय समितिलाई आवश्यक कागजात, प्रकृया, करकट्टी लगायतका विषयमा जानकारी नहुँदा कर्मचारी र उपभोक्ता समिति विच बैमनश्यताको अवस्था समेत रहन सक्ने भएकोले अत्यावश्यक तालिमको ब्यवस्था गरिएको बताईएको छ ।

समितिबाट गाउँपालिकामा सञ्चालन हुने सवै योजनाको उपभोक्ता समिति भदौ मसान्त भित्र गठन गरिसकिएको थियो । उक्त समितिका पदाधिकारीहरुलाई असोज ६ गतेबाट तालिम दिन सुरु गरिएको हो । असोज ६ गते वडा नम्बर ४ मा, ७ गते वडा नम्बर ५ मा, ८ गते वडा नम्बर ३ मा, ९ गते वडा नम्बर २ मा र ११ गते वडा नम्बर १ मा तालिमको आयोजना गरिने भएको हो ।

कार्यक्रममा गाउँपालिकामा जम्मा गरिने राजश्वको बारेमा पनि प्रशिक्षण दिईदै आएको छ ।

सम्बन्धित समाचार