कारागारबाटै निर्वाचन लड्दै शर्मा



नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्यादेवी शर्माले कारागारबाटै निर्वाचन लड्दै हुनुहुन्छ । उम्मेदवारी दर्ता गराएको केही समयमै नेपालगन्ज १५ निवासी शर्मालाई प्रहरीले सरकारी कागजात किर्ते तथा ठगी मुद्दामा पक्राउ गरेको थियो ।

राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएकी शर्मालाई छोरीको जन्म दर्ताको कागजात किर्ते गरेको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकोले उहाँले कारागारबाटै निर्वाचन लड्दै हुनुहुन्छ । बाँके कारागारमा महिला बन्दी राख्ने व्यवस्था नभएकोले उहाँलाई बर्दिया कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

बर्दिया कारागारबाटै शर्माले निर्वाचन लडिरहनुभएको उहाँका निकटहरूले जनाएका छन् । निर्वाचन प्रचारप्रसार तीव्र भइरहेका बेला शर्माले जिल्ला अदालतको आदेश बदरको माग गर्दै तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासमा रिट दायर गर्नुभएको छ । थुनछेकको आदेश बदर गरी पाउँ भन्दै परेको मुद्दाको सुनुवाइ हुन भने बाँकी छ । उता, मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेका निर्वाचन अधिकृत aमुनानन्द अधिकारीले दोषी ठहर नहुँदासम्म ४३ वर्षीया शर्माको उम्मेदवारी कायम रहने र कारागारभित्र बसेर पनि निर्वाचन लड्न पाउने व्यवस्था रहेको जानकारी दिनुभएको छ ।

उम्मेदवार शर्माको घर नेपालगन्ज उपमहानगरपालिका वडा नं १५ मा पर्छ भने वडा नम्बर १६ मा उहाँको माइतीघर छ । शर्माले छोरीको जन्म दर्तामा आफैँले सच्याएर उमेर घटाएको पाएपछि उजुरी परेकोले पक्राउ गरेर अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार