बुम्लिङ-बुधबारे सडक सरसफाई गरिदै



ताम्कु । गएको बर्षातको समयमा भत्किएको तथा जिर्ण बनेको बुम्लिङ-बुधबारे सडक मर्मत सुरु गरिएको छ । सिलिचोङ गाउँपालिकाको वडा नम्बर १ सिसुवाखोला र २ बाला प्रवेश गर्ने सडक मर्मत कार्य सुरु गरिएको हो ।

करिव १६ किलोमिटर क्षेत्रभित्रको सडक ठाउँठाउँमा भत्किएको तथा जिर्ण बनेकोले सवारी आवागमनमा समस्या थियो । गत बर्षातको समयमा भलबाढीले ठाउँठाउँमा सडक बगाए पछि यातायात सञ्चालनमा समस्या भएकोले गाउँपालिकाको ब्याकहोई लोडर प्रयोग गरेर सडक मर्मत कार्य सुरु गरिएको वडा नम्बर १ सिसुवाखोलाका अध्यक्ष गणेश कुलुङ (अनिश) ले जानकारी दिनुभयो ।

तीन दिन अघि सुरु गरिएको मर्मत कार्य सम्पन्न गर्न करिव ५ दिन थप समय लाग्ने अध्यक्ष कुलुङले जानकारी दिनुभयो । मर्मत गरिएको क्षेत्रमा माटो फाल्न तथा भर्नको लागि स्थानीय ढुवानी ब्यावसायीहरुसँग निशुल्क ट्याक्टर सेवा लिईएको कुलुङले जानकारी दिनुभयो ।

यो सँगै सिक्तेमटार देखि छुदाक जाने सडक पनि मर्मत गरिएको छ । केहि ठाउँमा ठुलो पहिरो खसेको तथा ठुलो ढुङ्गाको कारण डोजरको आवश्यकता पर्ने अध्यक्ष कुलुङले जानकारी दिनुभयो । निर्माण कार्यको लागि त्यस क्षेत्रमा पुग्ने डोजरलाई ढुङ्गा हटाउन लगाएर सडक सुचारु गरिने कुलुङले बताउनुभयो । सडक मर्मत कार्यमा सिलिचाेङ १ शिसुवाखाेलाका जनप्रतिनिधीहरु दैनिक श्रमदानमा जुटेका छन् ।

सम्बन्धित समाचार