चिचिलाको प्रशासनिक भवन उद्घाटन, आफ्नै भवनबाट सेवा दिन सुरु



खाँदबारी । चिचिला गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि भवनको उद्घाटन गरिएको हो ।

गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजनितिक दलका प्रतिनिधी, निवर्तमान जनप्रतिनिधि र स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो । पालिका अध्यक्ष पासाङ नुर्बु शेर्पा र उपाध्यक्ष मनकला राईले भवनको मुख्य गेटमा दियो बालेका थिए भने निवर्तमान उपाध्यक्ष यदुकुमारी राई र भौतिक पुर्वाधार समिति संयोजक राजेन्द्र घलेले रिवन काटेर भवनको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनकला राईले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा कार्यरत जनप्रतिनिधिहरुको तर्फबाट वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङले मन्तब्य राखेका थिए । त्यस्तै वडा नम्बर ३ का निवर्तमान वडा अध्यक्ष गजेन्द्र राई, निवर्तमान उपाध्यक्ष यदुकुमारी राईले पनि शुभकामना मन्तब्य राखेका थिए ।
राजनितिक दल तर्फ नेकपा माओवादी केन्द्रका नेता बीरसिंह गुरुङ, नेकपा एमालेको नेता कर्णबहादुर गुरुङ र नेपाली कांग्रेसका नेता टकमान घलेले शुभकामना मन्तब्य राखेका थिए । सिमित श्रोत साधनको उचित परिचालन गरेर चिचिलाले दिएको सेवाबाट अधिकांश नागरिकहरु सन्तुष्ट रहे पनि केहि कामहरु चुस्त र तिब्र बनाउनु पर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा बोल्दै चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बक्ताहरुबाट प्राप्त सुझावले आफुहरुलाई मार्ग दर्शन गर्ने बताए । कत्तिपय नागरिकहरुले पालिकाको भवन निर्माण ढिलो भएको भनेर गुनासो गरेको उल्लेख गर्दै अध्यक्ष शेर्पाले जनताकै आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्दा आफ्नो भवन निर्माण ढिलाई भएको बताए । चिचिला गाउँपालिकामा थोरै मात्र बजेट आउने र सो बजेट पालिका भवनमा लगाउँदा विकास निर्माण पछि पर्ने भएकोले भवन निर्माण दोश्रो प्राथमिकतामा परेको बताए ।

हालसम्म चिचिला बजारमा ब्यक्तिकाे घर भाडामा लिएर सेवा दिदै आएकोमा अब भने पालिकाको आफ्नै भवनबाट सेवा दिन सुरु गरिएको समेत अध्यक्ष शेर्पाले जानकारी दिए ।

गाउँपालिकाको प्रशासनिक भवन २ दशमलव ५ तलाको डिपिआर निर्माण गरिएको छ । जसको लागत ६ करोड ९७ लाख ७१ हजार ५ सय ७२ लाग्नेछ । त्यस मध्ये पहिलो तला निर्माण सकिएको छ ।

पहिलो तला निर्माणको लागि २ करोड ४७ लाख २० हजार ४ सय १२ रुपैयाँ बराबरको ठेक्का खुलाईएको थियो । सो भवन निर्माणको लागि कुन्सालिङ अरुण बरुण जेभिले २ करोड ४० लाख ८२ हजार ४ सय ८७ रुपैयाँमा ठेक्का पारेको थियो । हालसम्म २ करोड २९ लाख ९२ हजार ८ सय ९२ रुपैयाँ भुक्तानी दिई बाँकी रकम होल्ड गरिएको गाउँपालिकाका ईञ्जिनियर बिशाल कटुवालले जानकारी दिएका छन् ।

हेराैं कार्यक्रमका केहि तस्विरहरु:

सम्बन्धित समाचार