खाँदबारी । कोशी करिडोर सडक मार्फत तीन देश जोड्ने उत्तर दक्षिण कोशी राजमार्गको खाँदबारी नम खण्ड कालोपत्रे गर्न ठेक्का सम्झौता अवधिको २० महिना सकियो । योजना सम्पन्न अवधि ३६ महिना मध्ये २० महिना सकिदा भौतिक प्रगति भने १७ प्रतिशत मात्र पुगेको छ ।
शर्मा शिवशक्ति जेभिले ठेक्का पाएर काम गर्न सुरु गरे पनि काममा उदासिनता देखाउँदा भौतिक प्रगति हुन नसकेको हो । ठेकेदार कम्पनीले ठेक्का पाएपछि परिचालन रकम (जम्मा ठेक्का रकमको दश प्रतिशत) भुक्तानी लिएर लामो समय काममा नफर्के पछि प्रगति हुन नसकेको हो ।
जिल्लाका सरोकारवालाहरुको लगातारको ताकितापछि ठेकेदार हाल काममा फर्किए पनि बाँकी १६ महिनामा आयोजना सम्पन्न हुने सम्भावना न्युन छ । सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट नुमसम्मको ३९ किलोमिटर कालोपत्रे गर्ने आयोजनामा कुनै अवरोध नभएको उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालयका सईड ईञ्चार्ज ईञ्जिनियर रेशम ओलीले बताउनुभयो ।
उक्त आयोजनाको लागि बजेट अभाव समेत नरहेको उहाँले बताउनुभयो । खाँदबारी नुम कालोपत्रे आयोजनाको लागि कुनै अवरोध नभए पनि निर्माण ब्यावसायीले काम नगरेको ईञ्जिनियर ओलीको भनाई छ । समय अनुकुल भौतिक प्रगतिको लागि निर्माण ब्यावसायीलाई छलफलमा राखेर प्रतिवद्धता गराए पनि प्रगतिबाट सन्तुष्ट हुने अवस्था नरहेको उहाँको भनाई छ ।
निर्धारित समयमा सडक कालोपत्रे नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । जथाभावी खनिएको सडकले हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुँदा सवारी साधन सञ्चालन गर्न अवरोध भएको छ । यस बर्ष पनि पानी पर्ने समयमा काम थालिएकोले गतबर्ष जस्तै सास्ती खेप्नु पर्ने अवस्था आएको सोहि सडक खण्डमा पर्ने चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताउनुभयो । ‘योजना सम्झौता गरेर नियमित काम गरेको भए अधिकांश ठाउँमा ग्राभेल भईसक्थ्यो, तर जथाभावी खनेकोले यो बर्ष झन समस्या हुने भयो’, अध्यक्ष शेर्पाले बताउनुभयो ।
शर्मा शिवशक्ति जेभिले २०८० पुष १७ गते सम्पन्न गर्ने गरि २०७८ असार १७ गते उत्तर दक्षिण कोशी सडक आयोजनाको कार्यालय सङ्खुवासभासँग सम्झौता गरेको थियो । ३९ किलोमिटर सडकको कालोपत्रे गर्नका लागि ४८ प्रतिशत ‘बिलो’मा शर्मा शिवशक्ति जेभिले ठेक्का पाएको थियो । २ अर्ब ६० करोड रकम विनियोजन भएकोमा शर्मा शिवशक्तिले १ अर्ब २७ करोडमा ठेक्का पाएको हो । उक्त बजेटबाट ३ खण्डमा विभाजन गरि ठेक्का खुलाईएको थियो । तीन वटै ठेक्का शर्मा शिवशक्ति जेभिले पाएको थियो ।
गाेरखापत्र दैनिकबाट साभार गरिएकाे समाचार ।
प्रतिक्रिया