चिचिलामा नव प्रवर्तनात्मक विचार प्रतियोगिता सम्पन्न



चिचिला । चिचिला गाउँपालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा युवा नव प्रवर्तनात्मक विचार प्रतियोगिताको आयोजना गरेको छ । राष्टिय युवा परिषदको प्रायोजनमा आईतबार कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा ८ जना युवाहरुले प्रतिष्पर्धा गरेका थिए । जसमध्ये पाँचखपन नगरपालिका ४ का विमला निरौला प्रथम भएका छन् । त्यस्तै खाँदबारी नगरपालिका ६ का बिवस खत्री दोश्रो भएका छन् भने पाँचखपन नगरपालिका १ का दिक्षा लिम्बु तेश्रो भएका छन् ।

प्रतियोगितामा पहिलो हुने निरौलाले नगद १० हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै दोश्रो हुने खत्री र तेश्रो हुने लिम्बुले क्रमस ७ हजार, ४ हजार रुपैयाँ नगद सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रथम हुने निरौलाले नेपालमा पाईने पत्थर ढुङ्गाकाे माध्ययमबाट पर्यटन प्रवर्धन गर्न सकिने बारेमा प्रस्तुती दिएका थिए। दोश्रो हुने खत्रीले अम्रीसो खेती र यसको सम्भावनाको बारेमा प्रस्तुती दिएका थिए भने तेश्रो हुने लिम्बुले रसायनिक मलको विकल्पमा मानव मुत्र बारे प्रस्तुती दिएका थिए ।

प्रतिष्पर्धीहरुको प्रस्तुती माथी उपप्राध्यापक राजेन्द्र सर्वहारा, चिचिला गाउँपालिकाका शिक्षा शाखा अधिकृत बासुदेव कोईराला र ब्यावसायी बसन्त गुरुङले मुल्याङ्कन गरेका थिए ।

चिचिला गाउँपालिकाकाे अध्यक्ष पासाङ नुर्वु शेर्पाको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय युवा परिषद संखुवासभाका अध्यक्ष पासाङ शेर्पा, गाउँपालिकाका जनप्रतिनिधीहरु लगायत स्थानीयको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार