चिचिलाका पाँच समुहलाई दिईयाे पाँच प्रकारकाे उद्यम विकास तालिम



खाँदबारी । चिचिला गाउँपालिकामा गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सिप विकास तर्फ यस बर्ष ५ वटा कार्यक्रम सम्पन्न भएको छ । यस बर्ष चिचिला गाउँपालिका ५ मा फर्निचर निर्माण तालिम, ढाका बुनाई तालिम र बङ्गुर पालन तालिम सम्पन्न भएको छ । त्यस्तै वडा नम्बर २ मा सिस्नोको पाउडर बनाउने तालिम र वडा नम्बर ३ मा अल्लोको धागो बनाउने तालिम सम्पन्न भएको हो ।

वडा नम्बर ५ मा सञ्चालित फर्निचर निर्माण तालिम ११ जनाले लिएका छन् भने सोहि वडामा ७ जनाले ढाका बुनाई तालिम लिएका छन् । वडा नम्बर ५ मा नै सञ्चालन गरिएको बङ्गुर पालन तालिम ८ जनाले लिएका छन् । त्यस्तै वडा नम्बर २ मा १७ जनाले सिस्नोको पाउडर बनाउने तालिम लिएका छन् । वडा नम्बर ३ सञ्चालित अल्लो धागो प्रशोधन तालिम ८ जनाले लिएका छन् ।

वडा नम्बर ५ मा अघिल्लो बर्ष ढाकाको कपडा बनाई तालिम लिएका ७ जनालाई स्तरबृद्धि तालिम दिईएको उद्यम विकास सहजकर्ता रिता रेउलेले जानकारी दिनुभयो । त्यस्तै यो बर्ष ढाका बुनाई, फर्निचर निर्माण र सिस्नोको पाउडर निर्माण गर्ने तालिम लिएकाहरुलाई प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत उपकरणहरु समेत वितरण गरिएको कार्यक्रम रेउलेले जानकारी दिनुभयो ।

यहि बर्ष वडा ४ मा ढाका बुनाई स्तरबृद्धि तालिम सञ्चालन हुनेछ । आर्थिक बर्ष २०७७।७८ मा आधारभुत ढाका बुनाई तालिम लिएका ७ जनालाई स्तरबृद्धि तालिम दिन लागिएकाे हाे । यसै गरि गत बर्षा बाख्रा पालन सम्बन्धि तालिम लिएका वडा नम्बर ३ का पशुपालकहरुलाई बाेयर बाेका उपलब्ध गराउने कार्यक्रम रहेकाे उद्यम विकास सहजकर्ता रेउलेले जानकारी दिनुभयाे ।

गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सुरुमा सामाजिक परिचालन तालिम कार्यक्रम सञ्चालन गरिन्छ । त्यसपछि लक्षित समुदायको सहभागीतामा उद्यमशिलता विकास तालिम दिईन्छ । उक्त तालिममा सहभागीहरुले रोजेको विषयमा सिप विकास तालिम दिईन्छ । यो तालिम चिचिला गाउँपालिकामा बर्षेनी सञ्चालन हुँदै आएको छ ।

सम्बन्धित समाचार