मेलमिलापकर्ताहरुलाई प्रशिक्षण दिदै थुलुङ दुधकाेशी गाउँपालिका



साेलुखुम्बु । जिल्लाकाे थुलुङ दुधकाेशी गाउँपालिकाले पालिकाका मेलमिलाप कर्ताहरुलाई तालिम दिन सुरु गरेकाे छ । प्रत्येक वडाबाट छनाैट भएका १८ मेलमिलाप कर्ताहरुलाई साेमबारबाट प्रशिक्षण सुरु गरेकाे हाे ।

गाउँपालिकाकाे ९ वटै वडाबाट २-२ जनाकाे दरले मेलमिलापकर्ता छनाैट गरिएकाे थियाे । उनीहरुलाई २ जना प्रशिक्षकहरुले ४८ घण्टासम्म प्रशिक्षण गर्नेछन् । यसरि प्रशिक्षित भएका मेलमिलाप कर्ताहरुले समाजमा भईपरि आउने बिवादहरु समाधान गर्नेछन् ।

कार्यक्रमकाे उद्घाटन गर्नुहुँदै पालिका अध्यक्ष असिम राईले बिवादमा फसेका दुवै पक्षकाे बिवाद मिलाएर जितजितकाे अवस्था सिर्जना गर्न मेलमिलापकर्ताहरुकाे ठुलाे भुमिका रहने बताउनुभयाे । सहजकर्ताकाे अभावमा साना बिवादहरु अदालतसम्म पुग्नु पर्ने अवस्था आउन नदिन प्रत्येक वडामा तालिम प्राप्त मेलमिलापकर्ताकाे ब्यवस्था गर्न लागिएकाे समेत अध्यक्ष राईले जानकारी दिनुभयाे ।

यस अघि पनि मेलमिलापकर्ता छनाैट गरि बिवादहरु मिलाउने गरिदै आएकाेमा केहि मेलमिलापकर्ताहरु गाउँ बाहिर रहेकाे र केहि अन्य क्षेत्रमा  प्रवेश गरेकाेले पुन: मेलमिलाप कर्ता छनाैट गरि प्रशिक्षण सुरु गरिएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङले जानकारी दिनुभयाे । मेलमिलापकर्ताहरुलाई ७ दिनसम्म तालिम दिईने कुलुङले बताउनुभयाे ।

सम्बन्धित समाचार