चिचिलाको नयाँ प्रयोगः टोल विकास समितिलाई कर उठाउने जिम्मेवारी (रिपोर्ट सहित)



चिचिला । चिचिला गाउँपालिकाले आन्तरिक राजश्वलाई चुस्त तथा चुहावट रहित बनाउने नीति लिएको छ । गाउँपालिकामा जम्मा हुनु पर्ने कुनै पनि राजश्व चुहावट हुन नदिनको लागि टोल विकास समितिलाई जिम्मेवार बनाउने गाउँपालिकाले नीति लिएको छ ।

मुख्य गरि निकाशी कर अन्तर्गगतको राजश्व चुहावट हुन नदिन यस आर्थिक बर्षदेखि राजश्व सङ्कलन टोल विकास समितिलाई जिम्मेवार बनाउने गाउँपालिकाले नीति लिएको हो । टोल मार्फत नागरिकहरुलाई नै जिम्मेवार बनाउदा कर शिक्षा समेत तल्लो तहसम्म पुग्ने भएकोले यो नीति लिईएको गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाको भनाई छ । माथिल्लो सरकारबाट प्राप्त हुने बजेटमा मात्र भर पर्नु हुँदैन भन्ने सचेतनाको लागि समेत टोल विकास मार्फत आम नागरिकहरुलाई जिम्मेवारी दिईएको उहाँको भनाई छ ।

अधिकांश स्थानीय तहहरुले निकाशी कर सङ्कलनको लागि ठेक्का लगाउँछन् । चिचिला गाउँपालिकाले पनि अघिल्लो बर्ष सोहि विधि अपनाएको थियो । तर उक्त विधि प्रभावकारी नभएपछि यस बर्ष टोल विकास मार्फत नागरिकहरुलाई नै जिम्मेवार बनाएको हो । टोलले सङ्कलन गर्ने करहरुको बारेमा जानकारी दिनुहुँदै पालिका अध्यक्ष शेर्पा ।

चिचिला गाउँपालिकाले एक कार्यविधि नै निर्माण गरि यो कार्य गर्न लागेको हो । टोलले आआफ्नो टोलबाट निकाशी हुने सामानहरुको कर सङ्कलन गर्ने छन् । यसरि सङ्कलित राजश्वको २० प्रतिशत सम्बन्धित कर सङ्कलक टोलले राख्ने कार्यविधिमा ब्यवस्था गरिएको छ । उक्त रकम सम्बन्धित टोलको निर्णय बमोजिम खर्च गर्न सकिने गाउँपालिका अध्यक्ष शेर्पाले स्पष्ट पार्नुभयो ।

आम मानिसहरुले करको महत्व नबुझ्दा गलत सन्देश गएको गाउँपालिका अध्यक्ष शेर्पाको बुझाई छ । चिचिला गाउँपालिकामा पनि कर सङ्कलनको विषय उठ्दा कत्तिपय सशङ्कित भएको पाईएको उहाँले बताउनुभयो । कर कृषक तथा सर्वसाधारण उत्पादकले तिर्नु पर्ने होकी भनेर गलत बुझाई रहेको शेर्पाको भनाई छ । तर यस्तो कर कृषक तथा उत्पादकले नभई ब्यापारी तथा निकाशीकर्तालाई तिराईउने अध्यक्ष शेर्पाले स्पष्ट पार्नुभयो ।

टोल विकास समिति मार्फत चालु आर्थिक बर्षको पहिलो चौमासिकबाट नै लागु गरिने प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी दिनुभयो । कार्यविधि बमोजिम टोल विकास समिति राजश्व सङ्कलनका लागि गाउँपालिकामा सुचिकृत भएपछि जिम्मेवारी दिईने प्रमुख प्रशाकीय अधिकृत राईले बताउनुभयो ।

टोलटोलबाट राजश्व सङ्कलन सम्बन्धि चिचिला गाउँपालिकाले टोल विकास संस्थका पदाधिकारीहरुलाई अभिमुखिकरण समेत गराईसकेका छन् । अघिल्लो बर्ष नै गठन गरिएको टोल विकाश संस्थालाई थप जिम्मेवार बनाउने गाउँपालिकाको योजना उदाहरणीय रहेको टोल विकास समितिका पदाधिकारीहरु बताउँछन् ।

चिचिला गाउँपालिकाले सुरु गरेको यो नौलो प्रयास भोली थुप्रैका लागि उदाहरण बन्न सक्छ । गाउँ टोलबाट निकाशी हुने उपजहरुको बारेमा स्थानीयलाई नै बढी थाहा हुने भएकोले राजश्व चुहावट नुहुने मात्र नभई संकलित रकमको केहि हिस्सा टोलमा नै रहने हुँदा अन्य पालिकाहरुले पनि यो विधि अपनाउन उचित देखिन्छ ।

सुन्नुहाेस अडियाे रिपाेर्ट ।

सम्बन्धित समाचार