खाँदबारी । चिचिला गाउँपालिका वडा नम्बर ३ मा एकै दिन २ वटा भवनको शिलान्यास गरिएको छ । चालु आर्थिक बर्षमा विनियोजित गरिएको बजेटबाट भवन निर्माण सुरु गर्ने गरि शिलान्यास गरिएको हो ।
वडा नम्बर ३ को गैरिगाउँ टोलमा गैरि गाउँ सामुदायिक भवनको शिलान्यास गरिएको हो । चिप्दुवा त्रिबेणी युवा क्लवको आयोजनामा सामुदायिक भवन सिलान्यास गरिएको हो । सामुहिक समारोह, छलफल, बैठक लगायतका कार्यको लागि सामुदायिक भवन आवश्यक भएपछि गाउँपालिकाले चालु आर्थिक बर्षको हिउँदे अधिवेसनबाट ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट तत्काल भवन निर्माण कार्य सुरु गर्ने गरि शिलान्यास गरिएको हो ।
त्यस्तै, वडा नम्बर ३ कै तीनघरे खर्सुमा पनि मिश्रित युवा क्लवको सामुदायिक भवन शिलान्यास गरिएको छ । हिउँदे अधिवेसनबाट नै विनियोजित ६ लाख रुपैयाँले भवन निर्माण गर्ने गरि भवन शिलान्यास गरिएको हो । विनियोजित बजेटबाट निर्माण कार्य सुरु गर्ने र अपुग रकम आगामी आर्थिक बर्षमा विनियोजन गरि सम्पन्न गर्ने गरि दुवै भवनको शिलान्यास गरिएको हो ।
वडा नम्बर ३ को खर्सुमा निबर्तमान वडा अध्यक्ष स्वर्गीय गजेन्द्र राईको सदिक्षा अनुरुपको भवन निर्माण गर्न बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताउनुभयो । भवन निर्माण गर्नको लागि स्वर्गीय वडा अध्यक्षले नै जग्गा दान गर्नुभएको अध्यक्ष शेर्पाले स्मरण गर्नुभयो ।
शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पा सहित, उपाध्यक्ष मनकला राई, प्रमुख प्रशासकीय अधिकृत सन्तोष राई, वडा नम्बर ३ का अध्यक्ष जीतबहादुर राई, भौतिक पुर्वाधार समिति संयोजक राजेन्द्र घले, निवर्तमान उपाध्यक्ष यदुकुमारी राई, कार्यपालिका सदस्यहरु ईन्द्रबहादर राई पूष्पा राई, वडा सदस्य पदम राई लगायतका जनप्रतिनिधि, कर्मचारीहरु र स्थानीयको उपस्थिति रहेको थियो ।
यस बर्ष चिचिला गाउँपालिकाले टोल टोलमा आवश्यक सामुदायिक भवन निर्माणलाई प्राथमिकता दिएको छ । केहि दिन अघि मात्रै वडा नम्बर ३ कै बेँशीमा ईशाई धर्मावलम्बिहरुको चर्चको पनि शिलान्यास गरिएको थियो ।
प्रतिक्रिया