चिचिलाले कृषकलाई बाँड्यो ३० थान हाते ट्याक्टर



खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिकाले ३० जना कृषकलाई ३० थान खेतबारी जोत्ने हाते ट्याक्टर (मिनि टिलर) वितरण गरेको छ । गाउँपालिकोले कृषकसँगको ५० प्रतिशत लागत साझेदारीमा मिनिटिलर वितरण गरेको हो ।

चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत विनियोजित बजेटबाट कृषक छनौट गरि मिनिटिलर वितरण गरिएको हो । गाउँपालिकाले चालु आर्थिक बर्षमा मिनिटिलर वितरण गर्नका लागि ९ लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त बजेटबाट बोलपत्र आव्हान गरि विक्रेता छनौट गरिएको थियो । बोलपत्रबाट छानिएका विक्रेताले प्रतिगोटा २३ हजार ५ सय रुपैयाँमा ३० वटा मिनिटिलर उपलब्ध गराएको चिचिला गाउँपालिका कृषी शाखाले जनाएको छ । उक्त रकममा कृषक र गाउँपालिका विच ५० प्रतिशतको लागत साझेदारी रहेको छ ।

कृषकहरु छनौटको लागि गाउँपालिकाले आवेदन खुलाएको थियो । त्यसमा गाउँपालिकामा ५० कृषकले आवेदन दिएका थिए । आवेदन दिनेहरु मध्ये बढि क्षेत्रफलमा खेती लगाउने कृषक, गत बर्षमा मिनिटिलर अनुदान नलिएका लगायतका सर्तहरु राखि फिल्ड भिजिटबाट कृषक छनौट गरिएको कृषी प्राविधिक पेमडोमा शेर्पाले जानकारी दिनुभयो । फिल्ड भिजिटबाट वडा नम्बर १ का ३ जना, वडा नम्बर २ का ८ जना, वडा नम्बर ३ का ७ जना, वडा नम्बर ४ का ४ जना र वडा नम्बर ५ का ८ जना कृषकहरु छानिएको प्राविधिक शेर्पाले जानकारी दिनुभयो ।

पछिल्लो समय पशु पालन कम हुँदै गएको र गोरु पाल्न झण्झटिलो भएकोले कृषकहरुलाई सहजताको लागि मिनिटिलर वितरण गरिएको आर्थिक विकास समिति संयोजक एवम् वडा नम्बर १ का अध्यक्ष पूर्णकुमार राईले बताउनुभयो । वितरण गरिएको यान्त्रिक उपकरणले छोटो समयमा नै धेरै काम गर्न सकिने भएकोले विगत बर्षदेखि नै यो कार्यक्रम राख्दै आएको राईले बताउनुभयो । मिनिटिलर डिजेलबाट चल्ने, ६ हर्ज पावरको रहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

गाउँपालिकाको प्राङ्गणमा आयोजित हस्तान्तरण कार्यक्रममा सहभागी गाउँपालिका उपाध्यक्ष मनकला राईले कृषकहरुलाई उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । विक्रि गर्ने गरि उत्पादन गर्न नसकेपछि आत्मनिर्भर हुन सके पालिकाको पैसा नबाहिरिने उपाध्यक्ष राईले बताउनुभयो । चिचिला गाउँपालिकाले कृषीलाई प्राथमिकतामा राखेको बताउनुहुँदै कृषकहरु जागरुक भए जस्तोसुकै कामका लागि पनि कृषकलाई बजेट उपलब्ध गराउने राईले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार