मादी नगरपालिकाले किसानलाई बाँड्यो १५ हजार बोट कफीको बिरुवा



खाँदबारी । संखुवासभाको मादी नगरपालिकाले किसानहरुलाई १५ हजार कफीको बिरुवा वितरण गरेको छ । कफी बाली प्रवर्धन कार्यक्रम अन्तर्गत ६० जना किसानलाई कफीको बिरुवा वितरण गरेको हो ।

मादी नगरपालिकाले यस बर्षबाट कफी प्रवर्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले २ क्लष्टरमा कफी खेती कार्यक्रम राखेको हो । मादी नगरपालिका ४ उम्रिङ र वडा नम्बर ५ ढाडेगाउमा कफी कार्यक्रम सञ्चालन गरिएको हो । यहाँका किसानहरुलाई ७५ प्रतिशत अनुदानमा बिरुवा पाएका हुन् । कफी प्रवर्धन कार्यक्रममा संलग्न किसानहरुलाई नगरपालिकाले ब्यावायिक कफी खेतीबारे तालिम समेत दिएको छ ।

यस पटक बिरुवा ईलामबाट ल्याईएको छ । आगामी आर्थिक बर्षदेखि आफ्नै उत्पादनको बिरुवा रोप्ने लक्ष सहित नर्सरीको स्थापना समेत गरिएको छ । ईलामबाट ल्याईएको बिरुवाको लागत ४० रुपैयाँ पर्नेमा किसानले २५ प्रतिशत (दश रुपैयाँ) मात्र तिरेको कृषि विकास शाखा प्रमुख निमा शेर्पाले जानकारी दिनुभयो ।

कफी खेति प्रवर्धन कार्यक्रम अन्तर्गत नै यसै बर्ष ४ थान कफी प्रशोधन गर्ने उपकरण समेत वितरण गरिएको छ । यस अघिबाट नै उत्पादन हुँदै आएको कफीको प्रशोधनको लागि उक्त उपकरण वितरण गरिएको कृषी शाखा प्रमुख शेर्पाले बताउनुभयो । उहाँको अनुसार अहिले पनि नगर पालिकामा ३ देखि ४ टनसम्म कफी उत्पादन हुँदै आएको छ ।

नगरपालिकाको पहिलो प्राथमिकतामा सुरक्षित नागरिक आवास कार्यक्रम, भौतिक पूर्वाधार विकास लगायत प्राथमिकताका कार्यक्रमहरु सम्पन्न हुँदै गएपछि अब आर्थिक समृद्धिका लागि बहुबेर्षे नगदेबाली सुरु गरिएको मादी नगर प्रमुख जीवन लिङ्थेपले बताउनुभयो । कफीको बजार विश्वस्तरीय रहेकोले विगतबाट नै कफी खेतीमा संलग्न कृषकहरुलाई समेट्दै यो कार्यक्रम राखिएको नगर प्रमुख लिङ्थेपको भनाई छ ।

आगामी दिनमा समेत यो कार्यक्रमलाई निरन्तरता दिईने नगर प्रमुख लिङ्थेपको भनाई छ । आगामी बर्षमा बाहिरबाट बिरुवा नल्याउने, आफ्नै नर्सरीबाट उत्पादन भएको बिरुवा रोपिने उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार