धेरै बाँच्दैछन् महिलाहरु, औषत आयु ९० वर्ष कट्दै



विश्वमा महिलाहरुको औषत आयु बढिरहेको छ र निकट भविष्यमै दक्षिण कोरियाली महिलाहरुको औषत आयु ९० वर्ष कट्दैछ । यो सँगै दक्षिण कोरिया महिलाहरुको औषत आयु ९० वर्ष भन्दा धेरै भएको दुनियाको एकमात्र देश हुनेछ ।

विश्व स्वास्थ्य संगठन र बेलायतको लण्डनस्थित इम्पेरियल कलेजका शोधकर्ताहरुले विभिन्न ३५ वटा औद्योगिक राष्ट्रहरुका महिलाहरुको औषत आयुको विश्लेषण गरेका थिए ।

शोधकर्ताहरुले के अनुमान गरेका छन् भने सन् २०३० सम्ममा विश्वका मानिसहरु अझै धेरै बाँच्नेछन् अनि महिला र पुरुषबीचको आयुको अन्तर अझै कम हुनेछ, केही देशमा त बराबर नै पुग्नेछ ।

औषत आयु बढ्दै जाँदा वृद्धवृद्धाहरुका लागि पेन्सन तथा अन्य सामाजिक सुरक्षा र सेवा पूराउन सरकारहरुका लागि ठूलो चुनौति बन्ने पनि शोधकर्ताहरुको ठम्याई छ ।

शोधकर्तामध्येका एक प्राध्यापक मजिद इज्जाती भन्छन्ः दक्षिण कोरिया निकै उत्कृष्ट अवस्थामा छ । त्यहाँ महिला र पुरुषबीच निकै धेरै समान अवस्था पुगिसकेको छ र शिक्षा र पोषण जस्ता विषयहरुबाट धेरै भन्दा धेरै मानिस लाभान्वित भैरहेका छन् । साथै दक्षिण कोरियालीहरु हाइपरटेन्सन नियन्त्रणमा सबैभन्दा सफल छन् भने विश्वमा मोटोपना सबैभन्दा कम भएका देशमध्ये दक्षिण कोरिया पनि पर्दछ ।

तथ्यांक अनुसार कुनै बेला दीर्घायूको उदाहरण रहेको जापानको अवस्था भने खस्किँदो छ । जापान अहिले महिलाको औषत आयू सबैभनदा धेरै भएको देश हो तर सन् २०३० सम्म महिलाको औषत आयूको मामिलामा जापानलाई दक्षिण कोरिया र फ्रान्सले पछि पार्नेछन् । जबकी पुरुष औषत आयुको मामिलामा अहिलेको चौथो स्थानबाट तल झरेर जापान ११ औँ स्थानमा पुग्नेछ ।

उता अमेरिकाको अवस्था पनि सन्तोषजनक छैन । सन् २०३० सम्ममा अमेरिका धनी राष्ट्रमध्ये सबैभन्दा कम औषत आयू भएकोे राष्ट्र बन्नेछ ।

शोधकर्ताहरुले सन् २०३० सम्ममा अमेरिकामा महिलाको औषत आयु ८३ वर्ष र पुरुषको ८० वर्ष हुने अनुमान गरेका छन् जुन मेक्सिको तथा क्रोएसिया समेतले हासिल गर्नेछन् ।

शोधकर्ताहरुका अनुसार अमेरिकी समाज निकै असमान छ, जसले समग्र राष्ट्रिय अवस्थामा प्रभाव पारेको छ । अमेरिका विश्वव्यापी स्वास्थ्य विमा नभएको एकमात्र धनी देश पनि हो । साथै अमेरिका यस्तो पहिलो देश पनि बनेको छ, जहाँका मानिसहरुमा अग्लोपना घट्दैछ । यसको अर्थ बालबालिकाहरुले प्रारम्भिक अवस्थामा पाउने पोषणको अवस्था सन्तोषजनक नहुने गरकेो छ ।

औषत आयुको दृष्टिकोणमा अमेरिकालाई चिलीले उछिन्नेछ । सन् २०३० मा जन्मिने चिलीका महिलाको औषत आयु ८७ वर्ष हुनेछ भने पुरुषको ८१ वर्ष ।

सन् २०३० सम्ममा सबैभन्दा धेरै महिला औषत आयु हुने देशहरुमा क्रमशः दक्षिण कोरिया, फ्रान्स, जापान, स्पेन, स्विजरल्याण्ड र अस्ट्रेलिया हुनेछन् ।

त्यस्तै पुरुषको औषत आयुको मामिलामा पहिलो ६ देशहरुमा दक्षिण कोरिया, अस्ट्रेलिया, स्विजरल्याण्ड, क्यानडा, नेदरल्याण्ड र न्यूजिल्याण्ड हुनेछन् ।

सम्बन्धित समाचार