१७ वर्षदेखि साङ्लोमा बाँधिएका किशोरको उद्दार



२ चैत, झापा । १७ वर्षदेखि आफ्नै घरमा साङ्लोले बाँधेर राखिएका एक किशोरलाई मंगलबार उद्दार गरिएको छ । मानसिक असन्तुलन भएका झापाको राजगढ ८ बस्ने लीलाप्रसाद चम्लागाईंलाई सानैदेखि साङ्लोले बाँधेर राखिएको थियो ।

एक स्थानीय व्यक्तिले सामाजिक सञ्जालमा लीलाको अवस्थाको बारेमा सामग्री पोष्ट गरेर सबैको ध्यानाकर्षण गराएका थिए । त्यसपछि जिल्लाका सञ्चारमाध्यमहरुले पनि उनको खाजी गरे । सञ्चारमाध्यममा लीलाको समाचार आएपछि झापाका प्रमुख जिल्ला अधिकारी भिमप्रसाद तिवारीसहितको टोलीले उनको उद्दार गरेको हो ।

लीलाको सम्पूर्ण उपचार स्थानीय विएण्डसी अस्पतालले निशुल्क गरिदिने भएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले समाजमा रहेका विपन्न वर्गका पीडित र असहायलाई सहयोग गर्नु सामाजिक दायित्व भएकाले निःशुल्क उपचार गरिदिन लागेको प्रष्ट पारे । लीलालाई विर्तामोडस्थित सो अस्पतालमा ल्याएर उपचार सुरु गरिएको छ ।

‘मेरो परिवारभित्र पनि एक जना अटिजमको विरामी हुनुहुन्छ’ प्रसाईंले अनलाइनखबरसँग भने, ‘त्यसैले मलाई बौद्धिक अपाङ्गता हुनुको पीडा थाहा छ । हामी उनको उपचारमा कुनै कसर बाँकी राख्दैनौं ।’

विएण्डसीमा मानसिक रोग विशेषज्ञ डा। सञ्जिव बर्मा नेतृत्वको टोलीले उनको उपचार गर्ने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

छोराको उपचार हुने भएपछि उनकी आमा जानुका चम्लागाईंले खुशी व्यक्त गरेकी छिन् ।

‘छोरा जन्मिएदेखि नै यस्तै थियो’, उनले सुनाइन्, ‘खाना राम्रोसँग खाँदैनथ्यो । लुगा लगाउँदैनथ्यो । कतै हिँड्यो भने हिँडेको हिँड्यै गर्थ्यो ।’

परिवारको काममा बाधा पुग्ने भएकोले बाध्य भएर छोरालाई बाधेर राख्नु परेको जानुकाको भनाई छ । जानुकाका श्रीमान अहिले रोजगारीको लागि खाडी मुलुकमा छन् ।

सम्बन्धित समाचार