देउसी भैलोबाट संकलित रकमले कम्प्यूटर



जडानपछि कम्प्यूटर सिक्दै विद्यार्थीहरु । तस्विर मेघराज तामाङ

संखुवासभा,  चैत्र २२ – संखुवासभा साबिकको स्याबुन–७ हाल पाँचखपन नगरपालिका वडा नं. १ मा रहेको जालपादेवि निमाविले देउसी भैलोबाट सङ्कलन गरेको रकमले कम्प्यूटर खरिद गरेको छ । विद्यार्थी, अभिभावक र शिक्षकहरुको सक्रियतामा गरिएको देउसी भैलो कार्यक्रमबाट सङ्कलन भएको नगद १ लाख १३ हजार ८ सय ६७ रुपैंया २५ पैसाबाट कम्प्यूटर खरिद गरिएको हो ।

उक्त रकमबाट ६१ हजार बराबरको एक थान कम्प्युटर खरिद गरिएको प्रधानाध्यापक इन्द्र बहादुर थापाले बताए । सोही रकमबाट १४ हजार २ सय ६० रुपैंयाको कम्प्युटर टेबलको निर्माण गरिएको छ भने बाँकी रहेको रकमले अत्यावश्यक शैक्षिक सामग्री खरिद गरिएको छ ।
विद्यालयीय शिक्षा अन्तर्गत कम्युटरको आधारभूत सैद्धान्तिक विषयवस्तु समावेश भए पनि प्रयोगात्मक सिकाइ नहुँदा प्रभावकारी शिक्षा नभएकोले देउसी भैलो खेली कम्प्यूटर जुटाईएको प्रअ थापाको भनाई छ ।

यसअघि कम्प्युटर खरिदका लागी विभिन्न निकायलाई अनुरोध गर्दा समेत वेवास्ता गरेपछि यस्तो उपाय अपनाइएको उनले बताए । अहिले विद्यार्थीहरु कक्षाकोठामा उपलब्ध भएको कम्प्यूटरबाट कम्प्यूटर शिक्षा लिइरहेका छन् ।

सम्बन्धित समाचार