पूर्वेली भाकाका सर्जक डिल्ले दमाईको निधन




काठमाडौंस् पूर्वेली लोकगायक तथा लेखक डिल्लीमान दर्जी (डिल्ले दमाई) को ८४ वर्षको उमेरमा सोमबार निधन भएको छ । दमाई दम र प्रेसरका रोगी दमाईको चैनपुर १ हिटीडाँडा संखुवासभास्थित आफ्नै निवासमा मृत्यु भएको हो ।

दमाईले लेखेको कोसीको पानी, यो जिन्दागानी सललल गइजाने हौ हजुरु बोलको गीत चर्चित छ । उहाँको यो गीतलाई युट्युबमा सात लाख आठ हजारले हेरेका छन् । उहाँको यो गीतलाई नेपथ्य ब्यान्डका अमृत गुरुङले प्रयोग गर्नुभएको छ । नेपथ्यकै माध्यमबाट विश्वकै चर्चित स्टेज इङ्ल्यान्डको वेम्ली, सिड्नी, अमेरिका, यूरोपलगायत स्थानमा यो गीत गाइसकिएको छ ।

पूर्वेली लोकभाका एवं लोकसंस्कृतिका उपासक दमाई गायक, वाद्यवादक र लेखकसमेत हुनुहुन्छ । वास्तविक लोकसंस्कृतिका उपासकलाई सम्मान दिन नसके पनि उहाँका सिर्जना र लोकभाकाप्रतिको योगदानको कदर गर्नुपर्ने छोरा धनबहादुर बर्देवाको भनाइ छ ।लोकगीत गायनमा पूर्वाञ्चलमै चर्चित दमाईले वाद्यवादन एवं संगीतकारको परिचयसमेत बनाउनुभएको छ ।

२०३५ सालमा तत्कालीन राजा वीरेन्द्रले आयोजना गरेको लोकभाका वाद्यवादन प्रतियोगितामा देशभरबाटै दमाईको टोली प्रथम भएको थियो । राज्यले जातीय विभेद हटेको घोषणा गरे पनि गाउँसमाजबाट यसलाई व्यावहारिक रूपमा हटाउन नसकिएको अवस्थामा गतवर्षको दसैंमा मुकुन्द खत्री, अशेष शाक्यलगायत युवाको टोलीले दमाईकै हातबाट टीकासमेत लगाएको थियो ।

नमस्ते संखुवासभाबाट

सम्बन्धित समाचार