भारतमा योजना बनाएर नेपालमा डकैती गर्ने सात जना प्रहरी नियन्त्रणमा



विराटनगर । भारतमा योजना बनाएर नेपालमा डकैती गर्ने सात जनाको समूहलाई प्रहरीले मोरङको पथरी नगरपालिका–१ बाट नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकामाथि अनुसन्धान गर्दा विराटनगरमा चोरी गर्नलाई भारतको सितामढीमा योजना बनाएर उनीहरु नेपाल छिरेको खुलेको छ । डकैती गरेपछि पक्राउ परेको गिरोहमा तीन भारतीय र चार जना नेपाली नागरिक छन् । पक्राउ पर्ने भारतीय नागरिकमा विहार मधुवनी बेनीपट्टी कटैया–१३ का ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्ष्मण गुप्ता र बेनीपट्टी लदौता–६ का ४४ वर्षीय मोहम्मद मोतिउर रहमान छन् । त्यस्तै रौतहटको गौर नगरपालिका–३ पोखरियाका ४१ वर्षीय मोहम्मद मोहिज धुनियाँ, ५० वर्षीय बलराम क्षेत्री, सर्लाही ब्रम्हपुरी गाउँपालिका–४ का ५२ वर्षीय शेख मोहम्मद सलिफ र ४६ वर्षीय शेख अली असगर पनि पक्राउ परेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार पक्राउ परेकाहरुले डकैतीमा भारतीय नम्बर प्लेटको स्कोरपिओ पनि प्रयोग गर्ने गरेको खुलेको छ । प्रहरीले डकैतीमा प्रयोग गरिएको बीआर ३२ पीए २८३६ नम्बरको स्कोरपिओ नियन्त्रणमा लिएको छ । एसपी अधिकारीका अनुसार विराटनगरमा डकैती गरिसकेपछि सातै जना यही स्कोरपिओ गाडीमा चढेर पूर्वी नाका काँकडभिट्टा हुँदै भारत छिर्ने योजनामा थिए । त्यही योजना अनुसार भारततर्फ जाने क्रममा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथरीशनिश्चरेमा पुगेपछि इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारी नेत्रृत्वको टोलीले उनीहरुलाई पक्राउ गर्न सकेको हो ।
प्रहरीका अनुसार उनीहरु पछिल्लो पटक भदौ ९ गते सोमबार बिहान ८ बजे जोगवनी नाका हुँदै नेपाल छिरेको पत्ता लागेको छ । चार दिनको भन्सार तिरेर त्यही स्कोरपिओमा उनीहरु नेपाल छिरेको एसपी अधिकारीले बताए । पक्राउ परेको गिरोहले विराटनगरमा मात्रै चार पटक डकैती गरिसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी उनले दिए ।

सम्बन्धित समाचार