अरुण तेश्रोमाथी अझै अविश्वास




सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधिन अरुण तेश्रोलाई तेश्रो तथा अन्तिम पटक थपिएको ‘फाईनान्सियल क्लेजिङ’ को समय सकिसकेको छ । तर, अन्तिम पटक थपिएको समयमा पनि ‘फाईनान्सियल क्लेजिङ’ गर्न नसकेपछि स्थानीय स्तरमा विभिन्न आसंका उत्पन्न हुन थालेको छ ।

अरुण तेश्रोले तीब्र गतिमा काम भईरहेको दावी गरिरहदा बजेट जुटाउने काममा तोकिएको समयसिमा भित्र जुटाउन नसकेपछि स्थानीय नागरिकहरुले टिकाटिप्पणी सुरु गरेका छन् । चार दशक अघि पनि विश्व बैंकले अहिलेको अरुण तेश्रोमा जस्तै काम गरेर छोडेकोले पनि अहिलेको अरुण तेश्रो निर्माण कम्पनी माथी आसंका गर्न सुरु गरेका हुन् । एक बर्षअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा स्वीच थिचेर सिलान्यास गरेपछि विश्वस्त बनेको स्थानीय नागरिकहरु अहिले चिन्ता समेत ब्यक्त गर्न थालेका छन् ।

एक बर्ष अघि नै सिलान्यास गरिएको भएपनि ‘फाईनान्सियल क्लेजिङ’ भएपछि मात्र निर्माणको अवधि गणना गरिने पिडिएमा उल्लेख गरिएको छ । निर्माण सुरु गरिएको पाँच बर्षभित्रमा योजना सम्पन्न गरिसक्नु पर्ने ब्यवस्था छ । यसको अर्थ निर्माणको अवधी अझै सुरु भएको छैन । यद्धपी अरुण तेश्रो निर्माणको लागि निर्माण कम्पनी सतलज जलविद्युत निगमले त्यस क्षेत्रमा प्रवेश गरेर काम थालेको तीन बर्ष भईसकेको छ ।

लामो समयावधी भित्र पनि बजेटको ब्यवस्था हुन नसक्नुले गलत मानसिकता उनीहरुमा हुनसक्ने स्थानीयले आरोप लगाउन थालेका छन् । तोकिएको समयमा बजेटको काम सम्पन्न गर्न नसक्दा अविश्वास बढेको जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख सुमन शाक्य बताउनुहुन्छ । यस्तो कार्यले अरुण तेश्रोलाई ‘होल्ड’ गरेर मात्र राख्ने हो कि भन्ने आसंका उत्पन्न भएको उहाँको भनाई छ । यस्तो अवस्थामा सरकारले सम्झौता नै रद्ध गर्न समेत पछि पर्नु नपर्ने शाक्यको भनाई छ ।

चार दशक अघि विश्व बैंकले पनि सडक निर्माण, सुरुङ खन्ने लगायतका कामहरु गरिसकेपछि हात झिकेको थियो । त्यसबेला पनि स्थानीय नागरिकहरु अरुण तेश्रो बन्नेमा ढुक्क रहेको बेला काम छोडिएकोले अहिलेको अरुण तेश्रो विकास कम्पनीले हात नझिक्ला भन्न नसकिएको खाँदबारी ८ का जीवनाथ खनालको भनाई छ । काम सुरु गरिएको भनिएको बर्षौ वित्दा पनि आर्थिक श्रोत जुटाउन नसकिएको कारण देखाउनुले संका गर्ने वातावरण सिर्जना भएको उहाँका भनाई छ । सङ्खुवासभा चिनसँग पनि नजिक रहेकोले भारतीय पक्षको उपस्थिती निरन्तर गराउनको लागि पनि परियोजना लम्ब्याउन खोजिएको समेत खनालले आरोप लगाउनुभयो । ‘हामी अरुण तेश्रो निर्माणको पक्षमा छौ, तर पिडिएमा भएको सम्झौताको अक्षरस पालना हुनु पर्छ, यो वा त्यो कारण देखाएर पन्छिनु भएन’, खनालले भन्नुभयो ।

सम्बन्धित समाचार