मोदीले थिचेको स्विचले तेल नेपाल पठाउने,ओलीले थिचेको स्विचले रिसिभ गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले आ–आफ्नै देशबाट आज संयुक्त रुपमा बहुप्रतीक्षित मोतिहारी–अमलेखन्ज पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने भएका छन् । मध्यान्ह १२ वजे दुवै देशका प्रधानमन्त्रीले पाइपलाइनको उद्घाटन गर्नेछन् ।

नयाँ दिल्लीबाट मोदीले पाइपलाइनको स्वीच थिचेर उदघाटन गर्नेछन भने ओलीले सिंहदरवारबाट । सिंगापुरबाट उपचार गरेर फर्केका ओली बालुवाटारबाट निस्केका थिएनन् । यही कार्यक्रमको उद्घाटनका लागि उनी आज सिंहदरबारसम्म पुग्नेछन् ।

भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगन्जसम्म ल्याइएको पाइपलाइनको कुल लम्बाइ दुई सय ५९ दशमलव ७ किलोमिटर छ ।

इन्धन आपूर्तिका दृष्टिले निकै महत्वका साथ हेरिएको यो योजना दुवै प्रधानमन्त्रीले उद्घाटन गरेपछि नियमित सञ्चालनमा आउनेछ ।

करिब १२ बजे नयाँदिल्लीबाट मोदीले थिचेको स्विचले तेल नेपाल पठाउने र काठमाडौँबाट ओलीले थिचेको स्विचले रिसिभ गर्ने कार्यक्रम छ । त्यस्तै, अमलेखगन्ज डिपोमा खसेको इन्धन भारतीय आयलका निर्देशक जेपी सिन्हाले भाँडोमा थापेर नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडललाई हस्तान्तरण गर्ने कार्यक्रम पनि राखिएको छ ।

पाइपलाइनबाट दैनिक ३० हजार किलोलिटर इन्धन भित्राउन सकिने निगमले जनाएको छ । यसका लागि पाइपलाइन दैनिक २० घन्टा सञ्चालन गरिने पनि निगमले बताएको छ ।

पाइपलाइनबाट हालका लागि डिजेल मात्रै आयात गरिने र पेट्रोल आयात गर्न एक वर्ष लाग्न सक्ने अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले जनाए ।

सम्बन्धित समाचार