अरुण तेश्रोको काम सन्तोषजनक छः उर्जा सचिव घिमिरे




सङ्खुवासभा, असोज १० गते । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेश घिमिरले निर्माणाधिन अरुण तेश्रोको काम सन्तोषजनक रहेको बताउनुभयो । विहिबार अरुण तेश्रोको स्थलगत अवलोकनमा पुग्नुभएका सचिव घिमिरेले जिल्लाका पत्रकारहरुसँग कुरा गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

सचिव घिमिरेले अरुण तेश्रोको पावर हाउस र ड्याम साईडको निरिक्षण गर्नुभएको थियो । ड्याम साईडमा बनाईएको सुरुङ, त्यस क्षेत्रको भौतिक संरचनाको निर्माण लगायतको कामको प्रगति सन्तोषजनक रहेको उहाँले बताउनुभएको हो । कतिपय सहायक टनेलहरुको निर्माण कार्य सम्पन्न भईसकेको र मुख्य टनेलको पनि काम धमाधम भईरहेको पाईएको घिमिरेले बताउनुभयो । अहिले २४ सै घण्टा काम भईरहेकोले पनि अरुण तेश्रो बन्नेमा ढुक्क हुन सकिने उहाँको भनाई छ । हालसम्म जम्मा परियोजनाको काम मध्ये करिव २५ प्रतिशत काम सम्पन्न भईसकेको अरुण तेश्रोले रिपोर्टिङ गरेको समेत जानकारी दिनुभयो ।

अरुण तेश्रोले थप गरिएको समयमा पनि गर्न नसकेको ‘फाईनान्सियल क्लोजिङ’को विषयमा गोरखापत्रको जिज्ञासामा विद्युत विकास कर्ताले उचित कारण देखाएर पुनः समय थप गर्न सकिने उहाँले बताउनुभयो । यसरी थप गरिएको समय भित्र पनि ‘फाईनान्सियल क्लोजिङ’ गर्न नसकेपछि परियोजना अलपत्र हुने स्थानीयले आसंका गरेका छन् । तर विद्युत विकास कर्ताको कार्य प्रगति हेर्दा उनीहरुले त्यसरी नियतबस परियोजना छोड्ने सम्भावना नदेखिएको सविच घिमिरेले बताउनुभयो । उनीहरुले निकट भविश्यमा नै क्लोजिङको काम सम्पन्न गर्ने विश्वास उहाँले ब्यक्त गर्नुभयो । यद्धपी यसको सम्पुर्ण कामको जिम्मेवारी लगानी बोर्डलाई दिईएको उहाँले बताउनुभयो ।

कामदारको गुनासोः पारिश्रमिकमा विभेद गरियो

स्थलगत अवलोकनमा पुग्नुभएको सचिव घिमिरेलाई स्थानीय मजदुरहरुले आफुहरुलाई सेवा सुविधामा विभेद गरिएको गुनासो गरेका छन् । मजदुरहरुले कार्यस्थलमा मात्र नभएर खाँदबारीमा बास बसेकै स्थानमा समेत टोली नै बनाएर गुनासो सुनाउन पुगेका थिए ।

भारतीय मजदुरको तुलनामा आफुहरुलाई न्युन पारिश्रमिक दिईएको, अभद्र ब्यावहार गरेको, तुलनात्मक हिसावमा बढी काम लगाईएको लगायतका गुनासोहरु सचिव घिमिरेलाई सुनाईएको थियो । उनीहरुले पिडिएमा भएको सम्झौता अनुसार अरुण तेश्रो विकास कम्पनीले काम नगरेको समेत आरोप लगाएका थिए । अरुण तेश्रो प्रभावित क्षेत्रका नागरिकहरुले त्यस क्षेत्रमा उत्पादिन बस्तुहरु प्रयोग नगरिएको गुनासो गरेका छन् । परियोजना सुरु हुनुभन्दा पहिले प्रभावित क्षेत्रको उत्पादनहरु खपत हुने आश्वासन देखाईए पनि खाद्यबस्तु समेत बाहिरबाट नै ल्याउने गरिएको उनीहरुको गुनासो छ ।

श्रमिक र स्थानीय नागरिकहरुले गरेको गुनासोको विषयमा अरुण तेश्रो विकास कर्तासँग कुरा गर्ने सचिव घिमिरेले बताउनुभयो । अरुण तेश्रोमा कार्यरत मजदुरहरुले भने जस्तै पारिश्रमिकमा विभेद गरिएको पाईए त्यो गलत रहेको धारणा ब्यक्त गर्नुभयो । समान कामको लागि समान ज्यालाको ब्यावस्था गर्न आफुले सक्ने भुमिका खेल्ने श्रमिकहरुलाई आश्वासन दिनुभयो । अरुण तेश्रो विकास कर्ता र नेपाल सरकार विच भएको पिडिए सवैले अध्ययन गर्नु पर्ने र त्यसमा भएको ब्यवस्थाहरु अक्षरस पालना गर्न र गराउन सवै लाग्नु पर्ने समेत घिमिरेले बताउनुभयो । पिडिएमा भएको सम्झौता पुर्ण रुपमा कार्यन्वयन भए अरुण तेश्रोबाट नेपाललाई ठुलो फाईदा हुने उहाँले स्पष्ट पार्नुभयो ।

फाईल भिडियो हेर्नुहोस ।

https://www.youtube.com/watch?v=tny3dcgqpAI

सम्बन्धित समाचार