कोरोना संक्रमण दर बढेपछि मोरङमा निषेधाज्ञामा थप कडाइ, सीमा नाका पनि सुनसान बन्दै


१० श्रावण २०७८, आइतबार


मोरङमा असारको तेश्रो सातादेखि स्थिर रहेको कोरोनाको संक्रमण दर पछिल्लो समय बढेको छ । संक्रमण दरमा बढोत्तरी भएसँगै मोरङ प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्न थालेको छ ।

मोरङ प्रशासनले शुक्रबारदेखि लागु हुने गरी बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । त्यसैगरी बजार तथा पसल बेलुका ६ बजेदेखि बन्द गर्न थालिएको छ । सीमा वारपारमा पनि निगरानी बढाइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी सीमा क्षेत्रमा मानिसको आवतजावतमै रोक लगाइएको हो ।

भारतसँगको मुख्य सीमा नाका रानी लगायत सहायक नाकाहरूमा प्रहरी परिचालन गरी विशेष कामबाहेक नेपालीलाई भारत प्रवेश गर्ने र भारतीयलाई नेपाल प्रवेशमा पूर्ण रोक लगाइएको छ । भारतीयहरुलाई नेपाल प्रवेश गर्न पीसीआर परीक्षण रिपोर्टलाई अनिवार्य गरिएको छ । पीसीआर परीक्षण गरेको रिपोर्ट नभए वा पीसीआर परीक्षण गरेको ७२ घण्टाभन्दा बढी भएमा नाकामै त्यस्ता व्यक्तिको एन्टिजेन परीक्षण गरेरमात्र नेपाल प्रवेशको अनुमति दिने व्यवस्था मिलाइएको छ ।

विराटनगर महानगरपालिकाले रानीमा मेडिकल अधिकृतको नेतृत्वमा चिकित्सकको टोली परिचालन गरी भारतबाट आउने नागरिकहरूको स्वास्थ्य परीक्षण एवं एन्टिजेन परीक्षणलाई अनिवार्य गरेको छ ।

रानी नाकामा रहेको हेल्थ डेस्कका इन्चार्ज एवं मेडिकल अधिकृत डा। कमलकिशोर यादवका अनुसार हेल्थ डेस्कका कर्मचारीले नेपाल प्रवेश गर्ने भारतीय नागरिकहरुको पूर्ण परिचय खुल्ने लगत राख्ने गरेका छन् ।

गत वैशाखदेखि साउन ९ गतेसम्म सो नाकाबाट २ हजार २२३ जना भारतीय नागरिक नेपाल प्रवेश गरेको उनले जानकारी दिए । जसमा ८३ जनाको एन्टिजेन परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरूलाई भारतीय प्रहरीको समन्वयमा भारत फर्काइएको छ । साउन लागेपछि दैनिक २५ देखि ३० जना भारतीय नागरिक नेपाल प्रवेश गर्ने गरेका छन् । उनीहरुमध्ये धेरैजसो मोरङ र सुनसरीका विभिन्न उद्योगमा काम गर्ने सिलसिलामा तथा कतिपय भने मेडिकल कलेजमा अध्ययनका लागि नेपाल आएका हुन् ।

नाका क्षेत्र सुनसान
सामान्य अवस्थामा सधैँ भिडभाड हुने विराटनगरको रानी नाका अहिले सुनसान अवस्थामा छ । यस क्षेत्रका धेरैजसो नेपाली नागरिक दैनिक उपभोग्य सामग्रीदेखि लिएर लत्ताकपडा किन्नका लागि सीमापारको जोगवनी बजार जाने गरेकाले भने सधैँजसो रानी क्षेत्रमा भिडभाड देखिन्थ्यो । कोरोनाको दोश्रो लहरसँगै मानिसको आवागमन पातलिएको सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरु बताउँछन् ।

सुरक्षाकर्मीले सीमा क्षेत्रका मुख्य तथा सहायक नाका जाने सडकहरूमा बाँसको ढाट लगाएर रिक्सा, सफारी, टेम्पु लगायतका तीन पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् । जसका कारण रानी क्षेत्रमा मानिस र सवारी साधनको चहलपहल न्यून देखिने गरेको छ ।

खाद्यान्न लगायतका सामग्री खरिदका लागि जोगवनी बजार पुग्ने नेपालीको संख्या घटे पनि आवश्यक औषधिका लागि सीमा पार पुग्नुपर्ने नेपालीहरुको बाध्यता भने अहिले पनि हटेको छैन । विशेष प्रकारका औषधि, खासगरी टाउकोको समस्या भएका बिरामीका लागि आवश्यक औषधि स्थानीय बजारमा नआएपछि बिरामीका आफन्तहरु दैनिक रुपमा जोगवनी नाका पुगेर औषधिको जोहो गर्नुपर्ने बाध्यता रहेको विराटनगर महानगरपालिका–९ का हीराकाजी श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार रानी नाकामा औषधि लिन पुग्ने बिरामीका आफन्त सिधै जोगबनी बजारमा जान पाउँदैनन् । नाकामा रहेका नेपाल प्रहरी र भारतीय प्रहरीको समन्वयमा जोगवनीका औषधि पसलेहरुले डाक्टरले दिएको पुर्जाको आधारमा सम्बन्धित औषधीहरु सीमा नाका रानीमा ल्याइदिने गरेका छन् । जसका कारण औषधि खरिदका लागि रानी नाका पुग्ने बिरामीका आफन्तलाई सहज हुने गरेको छ ।

सीमा नाकामा तैनाथ सशस्त्र प्रहरीका अनुसार दैनिक २० जनाभन्दा बढी नेपाली औषधि खरिदका लागि रानी नाका आउने गरेका छन् । उनीहरु पूर्वी नेपालको धरान, इटहरी, दमक लगायतका स्थानबाट औषधिका लागि त्यहाँ पुग्ने गरेका छन् ।

सम्बन्धित समाचार