छुरा प्रहारबाट मोरङमा एकजनाको हत्या, एक गम्भीर


१२ श्रावण २०७८, मंगलबार


                                                                             घटनास्थलमा भेला भएको स्थानीय ।

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटमा छुरा प्रहार गरेर सोमबार दिउँसो एक किशोरको हत्या गरिएको छ । प्रहरीका अनुसार छुरा प्रहार गरेर १७ वर्षीय अभिशेक चौधरीको हत्या गरिएको हो ।

स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला छ/सातजनाको समूहमा आएका युवाहरुले अभिशेकमाथि दिउँसो १ : १५ बजेतिर छुरा हानेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ढाडमा गरिएको छुरा प्रहारबाट गम्भीर घाइते भएपछि उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्‍याउनेवित्तिकै उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।

उक्त समूहको आक्रमणमा परेर अभिशेषसँगै रहेका २१ वर्षीय सुशन धामी घाइते भएका छन् । शरीरका विभिन्न भागमा छुरा प्रहार गरिएको चोट रहेका धामीको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको जानकारी डीएसपी श्रेष्ठले दिए । घटनास्थलमा पुगेर इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ ।

खड्का नेतृत्वकै टोलीले घटनामा संलग्न भएको आशंकामा १८ वर्षीय निशान राई र पवन कार्कीलाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अरु युवा फरार रहेका कारण खोजी तीव्र पारिएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार फुटबल खेल्ने क्रममा दुई पक्षबीच विवाद भएको खुलेको छ ।

‘फुटबल खेल्दा विवाद भएर दुई पक्षबीच सामान्य भनाभन र झगडा पनि भएको रहेछ । तर त्यो विवाद त्यतिबेरै दुई पक्षीय सहमतिमा मिलाइएको पनि रहेछ,’ श्रेष्ठले भने, ‘तर त्यही रिसईबी साँधेर बसेको एउटा समूहले भने ज्यानै लिने घटना गराएको पुष्टि भयो । घटनाका बारेमा गम्भीर ढंगले अनुसन्धान सुरु गरिएको छ ।’

सम्बन्धित समाचार