यौन क्रियाकलापको अखडा बनेपछि स्थानीयले लगाए सटरमा ताला


२२ श्रावण २०७८, शुक्रबार


झापा । अर्जुनधारामा निर्माणाधीन कृषि बजारको सटरमा स्थानीयवासीले ताला लगाएका छन्। अर्जुनधारा– ८ स्थित निर्माणाधीन कृषि बजारको सटरभित्र यौन क्रियाकलाप र लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गएको जनगुनासो बढेपछि स्थानीयवासीले बिहीबार सटरहरूमा ताला लगाएका हुन्।

स्थानीयले ७७ वटा सटर र २ वटा शौचालयमा ताला लगाएका छन्। सटरमा ताला लगाएर चावी स्थानीयले अर्जुनधारा–८ का वडा अध्यक्ष गोपीचन्द्र गौतमलाई बुझाएका छन्।

स्थानीय पत्रकार कुमार भट्टराईले आफ्नो फेसबुकमा स्टाटस लेख्दै सो विकृतिको बारेमा सामाजिक सञ्जालमार्फत बाहिर ल्याएपछि बिर्तामोडका स्थानीय विवेक प्रसाइँले करिब १५ हजार मूल्य बराबरको ताला खरिद गरिदिएपछि स्थानीयबासी सटरमा ताला लगाउन पुगेका थिए।

करिब ३ वर्षअघि कृषि बजार बनाउने ठेक्का खुले पनि निर्माण कार्य सम्पन्न नगर्दा निर्माणाधीन सटरभित्र यौन क्रियाकलाप र दुर्व्यसनीको अखडा बन्दै गएकोले सटरहरूमा ताला लगाउनु परेको स्थानीय याम अधिकारीले बताए।

सटरभित्र हुने चर्तिकलाबारे स्थानीयले पटक–पटक प्रहरी र नगरपालिकालाई जानकारी गराउँदै आएका थिए। कुनै पहल नभएपछि बाध्य भएर स्थानीयले आफै ताला लगाउनु परेको उनले बताए।

नगरभित्र लागुऔषध प्रयोगकर्ताहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि गाउँघरमा चोरीका घटनाहरू समेत बढ्न थालेको स्थानीय वीरबहादुर अधिकारीले बताए।

साँचो बुझ्दै वडा अध्यक्ष गौतमले सटरभित्र हुने लागुऔषध दुर्व्यसनी र यौन क्रियाकलाप जस्ता घटना रोक्न स्थानीयले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए।

१० कट्ठा १५ धुरमा निर्माणाधीन भवन रेखदेखको जिम्मा नगरपालिकाका प्राविधिक कर्मचारी प्रदीप पुरीलाई लगाइएको थियो। प्राविधिक कर्मचारी पुरीले बीचमै राजीनामा दिएर गएकोले केही समस्या उत्पन्न भएको अध्यक्षले बताए।

सम्बन्धित समाचार