उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका – ७ अधेरी झरना नजिकै शनिबार दिउँसो रुखले किच्दा एकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत अधेरी झरना नजिक रोकिरहेको अटो माथि रुखले किचेर कटारी नगरपालिका–४ की ३८ वर्षीया निशा मगर दनुवारको घटनास्थलमै मृत्यु भएको थियो ।
रुखले किच्दा निशाका ४० वर्षीय श्रीमान श्याम दनुवार, अर्की २७ वर्षीया मिना दनुवार र अटो चालक कटारी नगरपालिका–५ का ४८ वर्षीय कुमार तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी बेदप्रसाद गौतमले बताए । घाइतेमध्ये अटो चालक तामाङ गम्भीर छन् । अन्यको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको छ ।
एक्कासी रुख ढल्दा पार्किङ गरेर राखिएको प्र।२–०१–००१ ह ०५६० नम्बरको अटो र स १० प ३२७२ नम्बरको मोटर साइकललाई र मृतक महिलालाई किचेको प्रहरीले जनाएको छ । मृतक दनुवार श्रीमानसहित अटो लिएर अधेरी झर्ना घुम्न आएका थिए ।
प्रतिक्रिया