दैलेखका एक युवाले आफ्नो शरीरमा देउता चढेको बहानामा श्रीमतीलाई चरम यातना दिएका छन् । भैरवी गाउँपालिका– ५ गौरीसल्लाका दीपक नेपालीले तातोपानी खन्याउँदै अगुल्टोले झोसेर सुत्केरीपत्नी हस्तना दमाईलाई गम्भीर घाइते बनाएका छन् ।
चार महिनाकी सुत्केरी २६ वर्षीया हस्तनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ । ‘आफूमा देउवा चढेको भन्दै श्रीमान्ले ढाड र अनुहारमा अगुल्टो झोस्ने र तातोपानी खन्याउने गर्न थालेपछि गुहार माग्दै भागेँ,’ उनले भनिन् । घाइते उनलाई छिमेकीले उपचारका लागि स्थानीय मेडिकलमा पुर्याएका थिए । घटनाबारे थाहा पाएपछि डाँडीमाडी चौकीबाट पुगेका प्रहरीले थप उपचारका लागि दैलेख अस्पताल पुर्याएका हुन् ।
हस्तनाको शरीरको १३ प्रतिशत भाग जलेको दैलेख अस्पतालका डा। जगत थापाले जानकारी दिए । ‘हस्तनाको स्वास्थ्य सुधारोन्मुख र खतरामुक्त छ, उपचार यहीँ सम्भव छ,’ डा। थापाले भने ।
श्रीमतीलाई घाइते बनाएर फरार भएका दीपकलाई जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको छ । दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार उनलाई जिल्ला अदालत दैलेखबाट १० दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ । हस्तनाकी आमा पाना दमाईंले दीपकविरुद्ध कारबाहीको माग गर्दै जाहेरी दिएकी छिन् । पाँच वर्षअघि विवाह गरेका उनीहरूका दुई सन्तान छन् ।
प्रतिक्रिया