घरघरै पुगेर नागरिकता


२८ श्रावण २०७८, बिहिबार


गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–५ बिहीकी ५८ वर्षीय छिरिङ साङ्मो एक दिनको बाटो हिँडेर गत बुधबार छिमेकी गाउँ ल्हो पुगिन् । नागरिकता वितरण गर्ने टोली आएको खबर पाएपछि उत्साहित हुँदै उनि त्यहाँ पुगेकी हुन् ।

सीमा प्रशासन कार्यालय सिर्दीबासका प्रमुख रामप्रसाद शर्मा नेतृत्वको टोली नागरिकता घुम्ती शिविर लिएर ल्हो गएको थियो । नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित ज्येष्ठ नागरिकले समेत नागरिकता पाए । आफू पनि नागरिकता पाउने आशमा साङ्मो हर्षले गद्गद् भइन् ।

भोलिपल्ट टोली घरदैलो गर्दै वडा–४ प्रोक गाउँ गयो । साङ्मो पनि टोलीसँगै गइन् । गाउँलेको खुसी बोकेर आएका नागरिकता टोलीको झोला बोकिदिइन् । वृद्धवृद्धालाई नागरिकता दिलाउन सहजीकरण गरिदिइन् । तेस्रो दिन बल्ल टोली नागरिकता बाँड्दै उनको गाउँ बिही पुग्यो । बाटो देखाउँदै, झोला बोकेर सघाउँदै साङ्मो आफ्नो गाउँ पुगिन् ।

सीमा प्रशासन कार्यालय सिर्दिबासका प्रमुख रामप्रसाद शर्माले घरमै पुगेर बिहीबार साङ्मोलाई नागरिकता प्रदान गरे । त्यसपछि नागरिकता प्रमाणपत्र टेबलमा राखेर सय पटक नमस्कार गर्दै ढोगिन् । त्यो दिन उनको जीवनकै सबैभन्दा खुसीको बन्यो । ‘नागरिकता हात परेपछि उहाँको मुहारमा देखिएको खुसी म शब्दमा बयान गर्न सक्दिन,’ टोली प्रमुख शर्माले भने, ‘नागरिकता नभएकै कारण गाउँमा स्वास्थ्यचौकी बनाउँदा साङ्मो जग्गा किनबेच गर्न नमिलेको रहेछ । त्यसैले यतिविधि खुसी हुनुभएको रहेछ ।’

नागरिकता पाएपछि स्थानीयले नाचगान गरे । सोही गाउँकी सोनाम छोटेनले ६८ वर्षमा नागरिकता पाइन् । श्रीमतीले नागरिकता पाएको खुसीमा उनका श्रीमान् नुर्बु छिरिङ १ घण्टासम्म नाचेका थिए । ‘म आफैं पहिले प्रधानपञ्च थिएँ तर श्रीमतीलाई नागरिकता बनाइदिन सकेको थिइनँ,’ छिरिङले भने । घरमै पाउन लेखेको रहेछ ।’ घरदैलो गरेर ८४ जनाको नयाँ नागरिकता र ३६ जनाको प्रतिलिपि बनाएको प्रमुख शर्माले बताए । जसमा १७ जना ७० वर्ष माथीका छन् ।

सदरमुकामबाट ५२ कोष टाढा रहेको चुमनुब्री गाउँपालिका–१ सामागाउँ सदरमुकामबाट पुग्न ५ दिन पैदल हिँड्नुपर्छ भने गाउँपालिकाको केन्द्र तथा सीमा प्रशासन कार्यालयबाट तीन दिन हिँड्नुपर्छ । अरू वडाका गाउँहरू प्नि उत्तिकै टाढा छन् ।

भौगोलिक विकटता, पहिलेका कर्मचारी सीमा प्रशासनमा नियमित नबस्ने, खर्च अभाव, आजीवन गोठमा बस्नुपर्ने जस्ता कारणले धेरै स्थनीयहरूले नागरिकता बनाउन नसकेको ४ वडाका अध्यक्ष पेमाडुण्डुप लामा बताउँछन् । ‘वृद्धवृद्धासहित धेरै नागरिक नागरिकताविहीन भएपछि वडा कार्यालयको व्यवस्थापनमा हेलिकोप्टर चार्टर गरेर नागरिकता टोली गाउँमा लगेका हौं,’ वडाध्यक्ष लामाले भने । वडा– १, २, ४ र ५ ले संयुक्त पहलमा हेलिकोप्टर चार्टर गरेका हुन् ।

सम्बन्धित समाचार