करिब आधा किलो अवैध सुनसहित तीनजना पक्राउ


२८ श्रावण २०७८, बिहिबार


कैलालीको अत्तरियाबाट प्रहरीले चार सय ४९।७७ ग्राम अवैध सुन र ४९ हजार चार सय पाँच रुपैयाँसहित तीनजनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको ना८ख ८३४९ नम्बरको बस अत्तरियामा चेकजाँचका क्रममा अवैध सुन फेला पारेको हो ।

उक्त बसका कन्डक्टर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ३५ वर्षीय भवानी घिमिरेको साथबाट प्रहरीले अवैध ४९।९५ ग्राम सुनका बाला र अत्तरियास्थित शैलेश्वरी सुनचाँदी पसलमा काम गर्दै आएका राजु बिकको साथबाट तीन सय ४९।८७ ग्राम अवैध सुन बरामद गरिएको हो । पक्राउ परेका घिमिरेसँगको बयानका आधारमा सुनका बाला शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक समिर सिजापतिको भएको खुलेको प्रहरी नायब उपरिक्षक बिष्टले बताए ।

सुनका बाला लिन आएका सिजापतिलाई समेत पक्राउ गरेर चेकजाँच गर्दा उनको साथबाट थप ४९।९५ ग्राम अवैध सुन फेला परेको प्रहरीले जनाएको छ । उक्त सुनको बिल नभएको प्रहरी नायब उपरिक्षक बिष्टले बताए । कन्डक्टर घिमिरेबाट बरामद भएको दुई वटा बालाको कतारको बिल रहे पनि घिमिरेसँग पासपोर्ट नभएकाले उक्त सुन पनि अवैध भएको प्रहरीले जनाएको छ ।

घिमिरेसँग रहेको २६ हजार दुई सय, बिकसँग रहेको छ हजार नौ सय पाँच र सिजापतिको साथबाट नगद १६ हजार तीन सय बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई बरामद सुनसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय नेपालगञ्ज बुझाइने प्रहरी नायब उपरिक्षक बिष्टले बताए ।

सम्बन्धित समाचार