भोजपुरमा बाली जोगाउन कृषकलाई बाँदर धपाउने उपकरण


२९ श्रावण २०७८, शुक्रबार


भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरका कृषकलाई भने बाँदरबाट बालीनाली जोगाउन नै समस्या भएको छ । मरिमरि दुःख गरेर लगाएको बालीनाली बाँदरको बथान नै आएर सखाप बनाउने गरेपछि कृषकमा चिन्ता बढेको छ ।

बाँदर आतङ्क बढदै जाँदा डिभिजन बन कार्यालय भोजपुरले भने कृषकका लागि बाँदर धपाउने उपकरण वितरण गर्न थालेको छ । मकैको सिजनमा बाँदरले बढी दुःख दिने भएकाले यस्तो समस्यालाई न्युनीकरण गर्न उपकरण वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

वन कार्यालयले वितरण गरेको यन्त्रले बन्दुक जस्तै आवाज दिने हुदाँ बाँदर भगाउन सजिलो हुने विश्वास कृषकहरूको रहेको छ । यतिबेला बारीमा मकैको सिजन छ, सयदेखि डेढ सयसम्मको हुलमा आउने बाँदरको समूहले कृषकलाई हैरान बनाएको छ । बाँदरको बथानका कारण आफूहरूलाई बाली जोगाउन मुस्किल परेको कृषक दिनेश बिकले बताए । उनले पनि बाँदर थपाउनका लागि डिभिजन वन कार्यालयबाट यन्त्र पाएका छन् ।

कृषक बिकले भने, ‘बालीनाली त लगाइन्छ, सयदेखि डेढ सयको हुलमा आउने बाँदर आतङ्कले बाली जोगाउन नै मुुस्किल हुन्छ, ठुलो सङ्ख्यामा हुने भएकाले लखेटनसमेत समस्या भएको छ । अबचाहिँ यो यन्त्रले केही सहज हुन्छ कि रु’ प्लाष्टिक पाइपबाट निर्माण गरिएको यन्त्रमा कार्बाइड र पानीको मिश्रण गरी ग्याँस उत्पादन भएपछि ठुलो आवाजमा पड्कने गर्छ । “बन्दुक पड्काएको जस्तो आवाज आउने उपकरणबाट ठुलो आवाज आउने भएकाले बाँदरसहित अन्य जीवजन्तु भगाउन सहज हुन्छ,” डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले भने, ‘कृषकहरूलाई खेतबारीमा लगाएको बाली जोगाउन समस्या भएकाले परीक्षणस्वरूप केही थान उपकरण कार्यालयबाट वितरण गरिएको हो ।’

बर्सेनि जिल्लामा बाँदर आतङ्क बढ्दै जान थालेपछि खेतीयोग्य जमिनहरूमा समेत बाली लगाउन छाडिएको छ । जिल्लाका तल्लो भेगका अघिकांश मानिसहरूसमेत बाँदर आतङ्कका कारण बसाइँसराईसमेत गर्न बाध्य बनेका छन् । जिल्लाका विभिन्न स्थानमा बाँदरले मकैबाली नष्ट गरेपछि कृषकहरू चिन्तित बनेका हुन् ।

सम्बन्धित समाचार