भोजपुरमा कृषि तथा पशुपालनमा ११ करोड बढी बजेट


३२ श्रावण २०७८, सोमबार


भोजपुर। भोजपुरमा कृषि तथा पशुपालन क्षेत्रमा ११ करोड बढी बजेट रकम खर्च गरिने भएको छ । जिल्लामा यस बर्ष कृषि ज्ञान केन्द्र मार्फत ६ करोड ५६ लाख १७ हजार तथा भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत ५ करोड ३३ लाख ७७, हजार बरावरको कार्यक्रम सञ्चालन हुने भएको हो ।

कृषि ज्ञान केन्द्र तथा पशु सेवा विज्ञ केन्द संखुवासभा सम्पर्क केन्द्र भोजपुरले चालु आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन । बिभिन्न शिर्षकमा गरेर यो चालु अर्थिक बर्षका लागि यो बजेट आएको कृषि ज्ञान केन्द्रका प्रमुख योगेन्द्र प्रसाद यादवले बताए । सार्वजानिक कार्यक्रम मार्फत दिएको जानकारी अनुसार ज्ञान केन्द्र मार्फत नमुना कृषि फर्म, सुन्तला बगैचा व्यवस्थापन, खाद्यान्न फलफुल, तरकारी खेती विस्तार, लगाएतका कार्याक्रम सञ्चालन हुने जनाईएको छ ।

त्यस्तै भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत च्यापकटर वितरण, बाख्रापालन, भेडापालन, अण्डा उत्पादन, वंगुर पालन लगाएतका कार्यक्रम सञ्चालन हुने भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हिमालय पोखरेलले वताए । प्रमुख पोखरेलले भने,‘कार्यालयको तर्फबाट कृषकहरुलाई प्रोत्साहन गर्दै आएका छौँ । यसबाट धेरै कृषकहरु लाभान्वित पनि भएका छन् । तर संखुवासभामा रहेको कार्यालयले भोजपुरलाई समेत हेर्नु पर्दा कार्यभार बढी भएकोले त्यसमा भने समस्या छ ।’

कार्यक्रम मार्फत यस वर्ष जिल्लामा सञ्चालन हुने योजनाको विषयबस्तुको बारेमा समेत राय सुझाब संकलन गरिएको छ । सरकारले कृषक लक्षित विभिन्न योजनाहरु सञ्चालन गरे पनि बास्तविक कृषकसम्म पुग्न नसकेको सहभागीहरुले गुनासो गरेका छन् ।

सञ्चालित योजनाहरुको अवस्थाको बारेमा नियमित अनुगमन गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले बताए । सरकाले विभिन्न खालका कृषक लक्षित कार्यक्रम सञ्चालनमा ल्याएसंगै कृषि तथा पशुपालन लाग्ने कृषकको आर्कषण बढेको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले बताए । कार्यक्रमलाई अझ प्रभावकारी बनाउन बेला बेलामा सरोकारवाला पक्षहरु संग छलफल गर्न समेत उनले आग्रह गरे ।

सम्बन्धित समाचार