खाँदबारीका ४७ महिला उपभोक्ता समिति पुरस्कृत



किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले ४७ वटा महिला उभोक्ता समितिलाई पुरस्कृत गरेको छ । नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ मा गठन भएर समयमै योजना सम्पन्न गर्ने महिला उपभोक्ता समितिलाई योजनाको कूल रकमको ३ प्रतिशत रकमले पुरस्कृत गरेको खाँदबारी नगरपालिका नगरप्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए ।

घरका चुलोचौको र घरयासी काममा मात्र सीमित हुने महिलालाई विकास निर्माणमा सहभागिता गराउन नगरपालिकाले महिला उपभोक्ता समितिलाई पुरस्कृत गरिएको नगरप्रमुख खतिवडाले बताए । गत वर्षको नगरसभाले समय अवधि भन्दा अघिनै निर्माण सम्पन्न गरेका महिला उपभोक्ता समितिलाई पुरस्कृत गर्ने निर्णय अनुसार पुरस्कृत गरेको नगरप्रमुख खतिवडाको भनाइ छ ।

खाँदबारी नगरपालिकाका ४६९ योजनामध्ये ४७ योजना महिला उपभोक्ता समितिमार्फत सम्पन्न भएका थिए । महिला उपभोक्ता समितिमार्फत सडक ढलान, धाराकुवा निर्माण, सोलिङ, तथा नाली निर्माण, विद्यालय भवन निर्माण र कुलोसहितका योजना निर्माण भएको खाँदबारी नगरपालिकाले जनाएको छ ।

महिलाले पनि पुरुषले जस्तै चुलोचौको छाडेर विकास निर्माण गर्न सक्ने खाँदबारी–३ गुवाबारी अमृतेश्वर मन्दिर निर्माण उपभोक्ता समितिकी अध्यक्ष भुमादेवी पाण्डे खत्रीले बताए । सुरुका दिनमा काम गर्ने केही असहज भए पनि निरन्तर काम गरेर समय अवधिमै योजना सम्पन्न गरेर पुरस्कृत हुँदा खुशी लागेको अध्यक्ष खत्रीले बताए ।

महिला उपभोक्ता समितिमार्फत बनेको योजना गुणस्तरीय र पारर्दर्शी भएको खाँदबारी–१ सडक मर्मत योजनाकी सचिव गोमा थापाले बताए । महिला मात्रै भएका उपभोक्ता समितिमा आर्थिक अनियमितता समेत नहुने र समयमा काम सम्पन्न हुने भएकाले यसलाई प्रोत्सानस्वरुप पुरस्कृत गर्ने कार्यक्रम राखिएको नगरप्रमुख खतिवडाले बताए । महिला मात्र भएको उपभोक्ता समितिमार्फत सञ्चालन भएका योजना अन्य भन्दा प्रभावकारीसमेत भएको नगर प्रमुख खतिवडाको भनाइ छ ।

भविन कार्की

सम्बन्धित समाचार