वीरगन्ज । भारतबाट तस्करी गरी ल्याइएको चाँदीका गहना सहित एक जना वृद्धलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ६ का ६० वर्षीय नागेन्द्र साह सोनार रहेका छन्।
भारतको रक्सौलबाट चाँदीको गहना लिएर वीरगन्ज पैदल आउँदै गरेका सोनारलाई , प्रहरीले वीरगन्ज रक्सौल नाकाको शंकराचार्य प्रवेशद्वारबाट बिहीबार बिहान पक्रेको हो।
सोनारले बोकेको ब्यागबाट चाँदीका विभिन्न गहना ६ किलो १ सय ६८ ग्राम बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।
पूर्वसुचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले शंकास्पदरूपमा पैदल हिंडिरहेका सोनारलाई नियन्त्रणमा लिएर उनको ब्याग खानतलाशी गर्दा चाँदीका गहना बरामद भएको खनालले बताए।
चाँदीका गहना सहित पक्राउ परेका सोनारलाई कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको खनालले जानकारी दिए।
प्रतिक्रिया