उत्तरी गोरखाको पहिरोमा डेढदर्जन खच्चड पुरिए



गोरखा । चुमनुब्री गाउँपालिका ६ लोक्पामा झरेको पहिरोमा पुरिएर १६ वटा खच्चड मरेका छन्। चुम उपत्यकामा खाद्यान्न पुर्‍याएर फर्किएका दुई समूह खच्चड पहिरोमा पुरिएको डिएसपी प्रकाश दाहालले बताए।

स्थानीय लोक्पाखोलामा पाँचसय मिटर माथिबाट ठूलो पहिरो खस्दा चुम्लिङको चित्रबहादुर गुरुङको आठ र छेवाङ गुरुङको आठ वटा खच्चड पुरिएको सिर्दिबास प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

सिर्दिबास चौकीबाट बुधबार प्रहरी पहिरो गएको ठाउँ पुगेर त्यहाँको अवस्था अध्ययन गरेर फर्किएको थियो। पहिरोमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। खच्चड धपाउनेहरु भागेर ज्यान जोगाएका उनले बताए।

सो क्षेत्रमा भारी बोक्नका लागि एउटा मात्र बिकल्प खच्चड हो। एउटा खच्चडको मूल्य सो क्षेत्रमा एक लाख रुपैयाँभन्दा धेरै पर्छ। सोही पहिरोले गत साउन २० गते लोक्पा खोलामा रहेको झोलुङ्गे पुल पनि भत्काएको थियो। काठको फड्को बनाएर स्थानीयबासी अस्थायी रुपमा आउजाउ गर्ने, खच्चड ल्याउन लैजाने गरेका थिए। अहिलेको पहिरोले फड्के पनि बगाएको स्थानीयले बताएका छन्।

पहिरोका कारण छेकम्पार आउजाउ गर्न स्थानीयलाई समस्या भएको स्थानीय निमा लामाले बताए। खच्चड हिड्ने बाटो नभएपछि त्यहाँ खाद्यान्न हाहाकारको अवस्था आउने खतरासँगै दैनिक गुजारा चलाउन समेत स्थानीयलाई समस्या हुने उनले बताए।

सम्बन्धित समाचार