दाङमा सिस्ने खोलाले कार बगाउँदा ४ जनाको मृत्यु, एकजना घाइते


१७ भाद्र २०७८, बिहिबार


घोराही । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

नेपालगञ्जबाट घोराहीतर्फ आउँदै गरेको प्रदेश ३/०१/२४ च ४४४० नं. को कारलाई घोराही उपमहानगरपालिका ४ गोग्लीस्थित सिस्ने खोलाको बाढीले बगाउँदा कारमा सवार चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १३ की ३२ वर्षीया शुसिला श्रेष्ठ र ४० वर्षीया रितामाया पुन तथा घोराही १४ का २९ वर्षीया राधा कुँवर र ४० वर्षीया विमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

विमला र रिताको शव घटनास्थलदेखि तीन किलोमिटर टाढा आज बिहान सवा ६ बजेतिर फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कार चालक घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ४३ वर्षीय नरबहादुर पुन घाइते छन् । पुनको खुट्टा भाँचिएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

उनलाई बगाएको स्थानदेखि करिब डेढ किलोमिटर टाढा घोराही–१७ बेलभारको नयाँवस्तीमा फेला पारेर उद्धार गरेको प्रहरीले जनाएको छ ।

सिस्नेखोलामा पुल निर्माण कार्य अलपत्र हुँदा गाडी तथा पैदलयात्रु कचवेबाट जोखिम मोलेर वारपार गर्न बाध्य छन् ।

सम्बन्धित समाचार