पर्वत पहिरो अपडेट : ६ जनाको मृत्यु‚ दुई बेपत्ता


१८ भाद्र २०७८, शुक्रबार


काठमाडौं । पर्वतका विभिन्न स्थानमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ। कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये तीनजनाको शव भेटिएको छ भने दुई जना अझै बेपत्ता छन्।

बिहीबार राति सवा २ बजे माथिबाट आएको पहिरोले घर परिँदा १५ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ७५ वर्षीया कौशिल्या पौडेलको मृत्यु भएको पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए। तीमध्ये विमला र विनिता दिदीबहिनी हुन् भने कौशिल्या उनीहरूकी हजुरआमा हुन्। कौशिल्याकी बुहारी भगवती पौडेल र उनका छोरा विनोद बेपत्ता छन्।

वडा नम्बर ३ का वडा अध्यक्ष यम शर्मा पौडेलले स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ताको खोजी गरिरहेको बताए। शर्माका अनुसार ६ जनाको परिवारमा घरमुली रामप्रसाद भने वैदेशिक रोजगारीका शिलशिलामा कतारमा छन्।

‘राजप्रसाद विदेश गएको पनि ६ महिना पुगेको छैन, यता घरमा ठूलै बज्रपात आइलागेको छ,’ शर्माले भने, ‘गाउँमा निकै सहयोगी मान्छे थिए उनैमाथि यस्तो बज्रपात आइलाग्यो।’

घटनाले सिंगो गाउँनै शोकमा डुबेको उनले सुनाए। शर्माका अनुसार गाउँकै माधव पौडेल सोही घरमा बस्दै आएका थिए। पहिरोले उनी बसेको कोठा मात्रै बचेको छ। उनैले होहल्ला गरेपछि गाउँलेले थाहा पाएको शर्माले बताए।

यस्तै‚ कुश्मा–११ पकुवामा पनि पहिरोमा पुरिएर आमा छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश रहेका छन्।

मोदी गाउँपालिका–५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठूलीमाया थापाको पनि मृत्यु भएको पर्वत प्रहरीले जनाएको छ। उनी घरमा एक्लै सुतेको बेला पहिरो गएको हो।

सम्बन्धित समाचार