संखुवासभा सामूहिक हत्या : झारफुक गर्न बोलाएका थिए, हत्या पो भइसकेछ


२४ भाद्र २०७८, बिहिबार


संखुवासभा । जिल्ला सदरमुकाम खाँदबारीबाट चैनपुर–मादी हुँदै खरबोटे पुग्न गाडीमा तीन घन्टा लाग्छ । त्यहाँबाट करिब दुई घण्टा उकालो हिँडेपछि पुगिन्छ, मादी नगरपालिका वडा नं। १ को खोलागाऊँ ।

यो त्यही गाउँ हो, जहाँ सोमबार एकै परिवारको ६ जनाको सामूहिक हत्या भएको छ । स्थानीय ९२ वर्षीय बौद्धमान कार्कीको परिवारका ६ सदस्यको हत्यापछि गाउँले त्रसित छन् ।

वडामै रहेको प्रहरी चौकीबाट सुरक्षाकर्मी पुग्न दुई घण्टा लाग्थ्यो । अहिले गाउँमा केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०, प्रदेश प्रहरी कार्यालय, बिराटनर, संघीय प्रहरी कार्यालय, धरान र जिल्ला प्रहरी कार्यालय, संखुवासभाको सिंगो टोली छ ।

तर सामूहिक हत्यामा संलग्न भएकाहरुको पत्ता नलागेकाले त्रासमा दिन कट्नु परेको स्थानीयबासी बताउँछन् । ‘अहिले पनि हात, खुट्टा कामिरहेको छ,’ घटनास्थल नजिकै भेटिएका स्थानीय नन्दकुमार कार्की भन्छन्, ‘मेरो छोरीसँग दुई जना बच्चाहरु पढ्थे, उनीहरुको हत्या भएको सुन्दा पत्याउनै सकिरहेको छैन ।’

उनका अनुसार मानिसहरु घाँस काट्न जान समेत डराउँछन् । ‘प्रहरी चौकी नजिकमा छैन, गाउँमा प्रहरी राखिदिए हुन्थ्यो’ उनी भन्छन्, ‘चाँडोभन्दा चाँडो अपराधीलाई कठघारामा खडा नगरिए हामी बाँच्नै गाह्रो छ ।’

‘एकैछिनमा भद्रगोल भएछ’

सोमबार बिहान ९ बजेतिर छिमेकी रामबहादुर खतिवडालाई फोन आयो, ‘कार्की आमै फेरि विरामी भइन्, झारफूक गर्न तुरुन्त जानु पर्‍यो ।’

उनका अनुसार बौद्धमानकी ८४ वर्षीया पत्नी पार्वती कार्की बेलाबेला मुर्छित भइरहन्थिन् । केही वर्षअघि मानिसहरुले मृत्यु भइसकेको भनेर घाट लैजाने पनि तयारी गरेका थिए । तर एकाएक होस आयो । सोमबार पनि बौद्धमान पार्वती फेरि बेहोस् भएको भन्ने बुझे र झरफुक गर्ने रामबहादुरलाई खबर गर्न लगाए ।

तर उनी नपुग्दै खबर आयो, ‘कार्की परिवार त सखाप भइसक्यो ।’ उनले झारफुक गर्ने भनिएकी पार्वतीको सुतकै ठाउँमा हत्या भएको थियो भने अरुका शव अन्यत्र भेटिएको छ ।

‘गाउँमा कोहीसँग कार्की परिवारको दुस्मनी पनि थिएन, साह्रै मिलनसार थिए’ रामबहादुर भन्छन्, ‘सबैलाई मारेको भनेर लाश देख्दा पनि पत्याउन गाह्रो परिरहेको छ ।’

साभार : अनलाइन खबर

सम्बन्धित समाचार