टिपरको ठक्करबाट चालकको मृत्यु, आक्रोशित स्थानीयद्वारा राजमार्ग अवरोध


११ आश्विन २०७८, सोमबार


झापा । स्थानीयवासीले दुई घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरोध गरेका छन्। टिपरको ठक्करबाट छोटा हात्ती गाडी (पिकअप भ्यान) चालकको मृत्यु भएपछि स्थानीयवासीले सोमबार बिहान झापाको शिवसताक्षी नगरपालिका १० स्थित माइधारमा राजमार्ग अवरोध गरेका हुन्।

आक्रोशित बनेका स्थानीयले सडकमै टायर बालेर सडक अवरोध गरेका छन्। सडक अवरोध हुँदा यातायातका सवारीसाधन सडकमै जाम लागेको छ। यता, प्रहरी राजमार्ग खुलाउन प्रयास गरिरहेका छन्। पूर्वपश्चिम राजमार्गस्थित माइधारमा सोमबार बिहान साढे ८ बजे प्रदेश ०३/००१ ९क०००९५ नम्बरको टिपरले को२च २६३२ नम्बरको छोटा हात्ती गाडीलाई ठक्कर दिएको थियो। टिपरको ठक्करबाट गाडी चालक दमक नगरपालिका ९ निवासी अन्दाजी ४० वर्षीय नेत्र खड्का रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

उनका अनुसार छोटा हात्ती सडकमा रोक्न खोजी रहेको अवस्थामा टिपरले पछाडिबाट ठक्कर दिँदा सो गाडी कनकाई सिँचाइ आयोजनाको नहरमा पल्टिएर पानीमा डुबेको थियो। पानीमा डुबेको गाडी निकाल्दा चालकको गाडीभित्रै मृत्यु भइसकेको थियो। टिपर र टिपर चालक जिल्ला मकवानपुर थाहा नगरपालिका ८ निवासी २४ वर्षीय सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले नियन्त्रणमा लिएको छ।

चार सय बढी स्थानीयवासी भेला भएर राजमार्ग अवरोध गरेकोले प्रहरी टोली घटनास्थल पुगेर राजमार्ग खुलाउने पहल गरिरहेको डिएसपी थापाले बताए। यता स्थानीयले गलत ठाउँमा ट्राफिक प्रहरीले चेकजाँच गरेको र ट्राफिक प्रहरीका कारण दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध नाराबाजी गर्दै सडक बन्द गराएका थिए।

सम्बन्धित समाचार