विराटनगर : ३८ क्विन्टल सुन तस्करी एवम् मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दामा शुक्रबार १८ जना प्रतिवादीको पक्षमा बहस भएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीको प्रतिरक्षामा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र सुरेशलाल श्रेष्ठसहितका कानुन व्यवासायीले बहस गरेका हुन्।
अभियुक्तको बचाउमा अधिवक्ताहरु भरतबहादुर थापा, उद्धवचन्द्र घिमिरे, पुरुषोत्तम नेपाल, हरिनारायण चौधरी, रमिता महर्जन, लक्ष्मण शर्मा न्यौपाने, विनोद तिमल्सिना, खगेन्द्र ढकाल, विकाश थापा, केदारप्रसाद दाहाल र अपूर्व भण्डारीले बहस गरेको मोरङ अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताए। उनका अनुसार १८ प्रतिवादीका पक्षमा १३ जना कानुन व्यवासायीले बहस गरेका हुन्।
प्रतिवादीमध्ये नेपाल प्रहरीका एसपी विकाराज खनालको पक्षमा बरिष्ठ अधिवक्ता खनाल र अधिवक्ता विकाश थापाले बहस गरे। २०७१ चैतदेखि २०७२ पुससम्म त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा एसपी खनालले सुन तस्करीमा सहयोग गरेको अभियोग छ। उनी विमानस्थलमा रहेकै बेलामा सबैभन्दा बढी तस्करीको सुन दुबईबाट नेपाल भित्रिएको अनुसन्धानबाट पत्ता लाग्यो।
अभियुक्तमध्येका एक जना मोहनको काफ्लेको घरबाट सुन तस्करको हिसाबकिताब राख्ने गरिएको डायरी बरामद भएको थियो। उक्त डायरीमा उल्लेख भएको ‘एसपी मामा’ भनिने नाम खनालको रहेको अनुसन्धानबाट पत्ता लागेको हो। सुन तस्करी एवं सनम हत्याका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीको समूहसँग साँठगाँठ गरेर खनालले सुन तस्करीमा सहयोग गरेको खुलेको थियो।
जिल्ला अदालत मोरङको आदेशबाट पूर्पक्षका लागि थुनामा पठाइएका खनाल पछि उच्च अदालत विराटनगरको आदेशबाट छुटेका थिए। सनमको हत्या भएपछि गोरेले उनलाई फोनमार्फत घटनाका बारेमा जानकारी दिएको पनि खुलेको छ।
‘गाडीमा सनमको शव ल्याएर त्रिशूली नदीमा फ्यालिदिनू, घटना कसैले थाहा पाउँदैन’ भनेर एसपी खनालले गोरेलाई सिकाएको अनुसन्धानका क्रममा पत्ता लागेको थियो। तर गोरेको समूहले उनले सिकाएजस्तो भने नगरेको पाइएको छ। सनमको हत्या हुँदा उनी चितवन प्रहरी प्रमुख थिए।
त्यस्तै मुद्दामा प्रतिवादी बनाइएका सुन व्यापारी आरके भनिने राजेन्द्रकुमार शाक्यको पक्षमा अधिवक्ता केदारप्रसाद दाहाल र विकाश थापाले बहस गरेका छन्। काठमाडौंका सुन व्यापारी शाक्यले गोरेको समूहसँग तस्करीको सुन खरिद गरेको पत्ता लागेको थियो। मोहन काफ्लेको घरमा फेला परेको डायरीमा उनले किनेको सुनको हिसाबकिताब राखिएको फेला पर्यो।
प्रतिवादी चेतन भनिने चेतनाथ भण्डारीको प्रतिरक्षामा अधिवक्ताहरु अपूर्व खतिवडा र विकाश थापाले बहस गरेका छन्। गोरेको समूहमा रहेर दुबईबाट सुन नेपालतिर तस्करी गर्ने धन्दामा उनको संलग्नता देखिएको छ। नेपाल ल्याइसकेपछि हराएको सुन पत्ता लगाउने र त्यो कुरो बाहिर लैजान नदिने विशेष जिम्मेवारीसमेत गोरेको समूहले भण्डारीलाई नै सुम्पिएको खुलेको छ। हराएको सुन खोज्न गिरोह खटाउने काम उनैले गरेको अनुसन्धानका क्रममा पत्ता लागेको हो।
प्रतिवादी बालकृष्ण श्रेष्ठको पक्षमा अधिवक्ता पुरुषोत्तम नेपालले बहस गरे। गोपालकुमार श्रेष्ठ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, तक्लु भनिने पुन्यप्रसाद लामा र हरिशरण खड्काको प्रतिरक्षामा उद्धवचन्द्र घिमिरेले बहस गरेका छन्। सम्वीरप्रसाद तोलांगेको पक्षमा अधिवक्ता हरिनारायण चौधरी र रमिता महर्जन तथा नेपाल प्रहरीका हवल्दार अम्बरबहादुर थापामगरको पक्षमा रमिता महर्जनले बहस गरेका छन्।
प्रतिवादी विनोद अधिकारीको पक्षमा लक्ष्मण शर्मा न्यौपाने र प्रभातकुमार अग्रवाल, आरडी राजु भनिने राजकुमार दारुका एवं डब्लु भनिने इम्तियाज उद्धिमको
प्रतिरक्षामा विनोद तिमल्सिना र विकाश थापाले बहस गरे। थापाले प्रतिवादी विमल पोद्धारको पक्षमा पनि बहस गरेका छन्। प्रतिवादी बेनु श्रेष्ठको प्रतिरक्षा बरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ र अधिवक्ताहरु खगेन्द्र ढकाल एवं विकाश थापाले गरेका छन्। अर्का अभियुक्त प्रमोदकुमार श्रेष्ठको बचाउमा अधिवक्तहरु भरतबहादुर थापा र विकाश थापाले बहस गरे। अधिवक्ता भरतबहादुर र विकाश थापा बाबु–छोरा हुन्।
अभियुक्तमध्ये बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ त्रिभूवन अन्तर्राष्टिय विमानस्थलमा कार्यरत र सम्वीरप्रसाद तोलांगे थाइ एयरलाइन्सका कर्मचारी हुन्। अनुसन्धानबाट पत्ता लागे अनुसार तस्करी गरेर जहाजमार्फत ल्याइएको सुन विमानस्थलबाट बाहिर निकालेर गोरेको समूहलाई जिम्मा लगाउने भूमिकामा उनीहरु थिए। कर्मचारी र प्रहरीसँग सम्बन्ध बढाएर तस्करीको सुन विमानस्थलमा बाहिर निकाल्ने भूमिका तक्लु भनिने पुन्यप्रसाद लामा लगायतले खेल्ने गरेको अनुसन्धानबाट खुलेको छ।
हरिशरण खड्का र प्रमोदकुमार श्रेष्ठ गोरेको समूहले नेपाल ल्याएको सुन विभिन्न ठाउँमा ‘सप्लाई’ गर्ने भूमिकामा देखिएका छन्। सनमको हत्यामा पनि खड्काको अप्रत्यक्ष संलग्नताको दाबी गरिएको छ। अम्बरबहादुर थापामगर एसएसपी श्यामबहादुर खत्रीका अंगरक्षक हुन्। मुद्दाका प्रतिवादी रहेका एसएसपी खत्री अहिले थुनामै छन्। सुन तस्करी भएका बेला खत्रीको अंगरक्षकका रूपमा थापा विमानस्थलमा खटिएका थिए।
विनोद अधिकारी सुन तस्करीमा संलग्नता पुष्टि भएपछि दोस्रो पटक पूरक अभियोग दर्ता गरिएका अभियुक्त हुन्। तस्करीमा संलग्नता देखिएपछि सुन व्यापारी प्रभातकुमार अग्रवाल, विमल पोद्धार, आरडी राजु भनिने राजकुमार दारुका र डब्लु भनिने इम्तियाज उद्धिमलाई तेस्रो पूरक अभियोगमा प्रतिवादी बनाइएको हो।
प्रतिवादी बेनु श्रेष्ठ गोरे समूहका मुख्य व्यक्ति हुन्। तस्करीको सुनका लगानीकर्ता एवं सुन तस्करीका ‘डिजाइनर’ रहेको अनुसन्धानबाट खुलेपछि उनीलाई पनि मुद्दामा प्रतिवादी बनाइएको हो।
जिल्ला अदालत मोरङमा २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले मुद्दा दर्ता गरेको थियो। मुद्दाको अन्तिम सुनुवाइ जिल्ला अदालत मोरङमा गत आइतबारदेखि जारी छ। मुद्दामा नेपाल प्रहरीका उच्च अधिकारीसहित ७७ जनालाई प्रतिवादी बनाइएको छ।
तस्करी गरेर १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी सरकार पक्षको छ। सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा उक्त परिणामको सुन तस्करी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट खुलेको हो। तर तस्करी गरेको भनिएको सुन भने अझैसम्म फेला परेको छैन।
तस्करी गरेर २०७४ साल माघ ९ गते दुबईबाट नेपाल ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोप लगाउँदै गोरेसहित उनको समूहले २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै सनमको हत्या गरेको हो। सनम हत्याको अनुसन्धान गर्दा ठूलो परिणाममा विदेशबाट नेपालतिर सुन तस्करी भइरहेको पत्ता लागेको थियो।
प्रतिक्रिया