प्रदेश १ : विश्वासको मतदानको मिति सार्ने सत्तापक्षको कसरत‚ आजै गर्नुपर्ने विपक्षीको अडान


५ कार्तिक २०७८, शुक्रबार


विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरेको नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक आज बस्न लागेको हो।

नेकपा (एमाले)बाट गत भदौ १० गते मुख्यमन्त्री नियुक्त आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते संसद सचिवालयमा दर्ता गराएका थिए। आज बस्ने बैठकमा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव टेवल गरेपछि छलफलको प्रक्रियामा जानेछ।

सभामुख प्रदीपकुमार भण्डारील आजको बैठकमा छलफलपछि मतदानको मिति केही दिन पर सार्ने तयारी गरेका छन्। तर‚ प्रतिपक्षी दलहरु भने आजै सरकारको विश्वास परीक्षण हुनुपर्ने अडानमा छन्।

एमालेका प्रमुख सचेतक बुद्धि राजभण्डारीले आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव टेवल हुने बताए। बैठकअघि एमाले संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए।

बैठकको कार्यसूची तय गर्नका लागि साढे १० बजे सभामुख भण्डारीले कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्।

सम्बन्धित समाचार