सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो, २२ जना अझै बेपत्ता


५ कार्तिक २०७८, शुक्रबार


बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा डुबानबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्बाट आज बिहानसम्म यस प्रदेशमा ३३ जनाको मृत्यु भएको हो। बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी बझाङमा भएको छ।

त्यसपछि डोटीमा मानविय क्षति भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बझाङमा नौ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन्। डोटीमा १६ जनाको मृत्यु भएको छ। बैतडीमा चार, डडेलधुरामा तीन र कैलालीमा एक जनाको मृत्यु भएको छ। बझाङमा २० सहित २२ जना बेपत्ता रहेका छन्।

बेपत्ता हुनेमा बैतडी, कैलालीमा एकरएक जना छन्। यस्तै १७ जना घाइते भएका छन्। घाइते हुनेमा डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरामा एकरएक जना छन्। विपदका घटनामा बाजुरा, डोटी, डडेल्धुरा, बझाङमा गरी एक सय बढी पशु चौपाया पनि मरेका छन्।

पहिरोका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरुपमा क्षति पुगेको छ। बाढीका कारण यहाँका दुई सय १६ घरधुरी डुबानमा परेकोमा चार सय ३० जनाको नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ।

बाढीपहिरोकै कारण करोडौंको बराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ। बाढीपहिरोका कारण यस प्रदेशमा भएको धनजनको क्षतिको प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले निरीक्षण गरेको छ। अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशका सबै राजमार्ग अवरुद्ध भएका थिए।

सम्बन्धित समाचार