खिम्ती-१ सञ्चालनका लागि संयुक्त कम्पनी बनाउन हिमाल पावरको आनाकानी



काठमाडौं । ६० मेगावाटको खिम्ती १ जलविद्युत् आयोजनाको सञ्चालन र व्यवस्थापनका लागि नयाँ संयुक्त कम्पनी स्थापना गर्न ढिलाइ भएको छ । कम्पनी सञ्चालनको सांगठनिक संरचना, व्यवस्थापन, निर्णय अधिकार लगायतका विषयमा नेपाल विद्युत् प्राधिकरण र हिमाल पावर कम्पनीबीच कुरा नमिल्दा कम्पनी स्थापनामा ढिलाइ भएको हो ।

कानुनअनुसार २५ असार २०७७ मा नै ६० मेगावाटको खिम्ती १ जलविद्युत् आयोजनाको आधा स्वामित्व प्रवर्द्धक हिमाल पावर लिमिटेडबाट औपचारिक रुपमा नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण हुनुपर्ने हो । २०५२ माघ १ गते प्राधिकरणसँग भएको भएको विद्युत् खरिद सम्झौताअनुसार यो आयोजनाको ५० प्रतिशत शेयर प्राधिकरणको स्वामित्वमा ल्याएर नयाँ कम्पनी स्थापना हुनुपर्थ्यो ।

तर, अझै आयोजनाको सञ्चालक कम्पनीको स्थापना, नयाँ विद्युत् खरिद दर, रोयल्टी तथा कर भुक्तानीलगायतका विषय भने टुङ्गिन सकेको छैन । प्राधिकरणका एक उपकार्यकारी निर्देशकका अनुसार कोरोनाको कारण देखाएर प्रवर्द्धक हिमाल पावर कम्पनीले कम्पनी स्थापनामा सहमति गर्न ढिलाइ गरेको छ । कम्पनीले विभिन्न विषयमा सम्झौताभन्दा फरक तर्कहरु पेश गर्दै आनाकानी गरिरहेको प्राधिकरण स्रोतले बतायो ।

सम्झौताअनुसार व्यावसायिक उत्पादन थालेको २० वर्षपछि आयोजनाको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणको नाममा ल्याउनुपर्छ । प्राधिकरण र प्रवर्द्धक हिमाल पावर लिमिटेडले नयाँ संयुक्त कम्पनी खडा गरेर आयोजना सञ्चालन गनुपर्ने भएपनि कम्पनीको प्रवन्धपत्रमा सहमति हुन सकेको छैन ।

‘थुप्रै चरणमा बैठक बसिसक्यौं, तर हिमाल पावरले छिटो टुंग्याउन चासो दिएको छैन, कम्पनीको सञ्चालन संरचना र व्यवस्थापनमा अझै पनि आफ्नै प्राधिकार खोजिरहेको छ,’ ती अधिकारीले भने,’५० प्रतिशत शेयर स्वामित्व प्राधिकरणको भएकाले बराबरी अधिकारसहित कम्पनी खडा हुनुपर्छ भन्ने हाम्रो अडान छ ।’

प्राधिकरणले आधा सेयर स्वामित्व लिएर पुरानो पीपीए पुनरावलोकन गर्दै नयाँ खरिद दर तय गर्न अब धेरै ढिलाइ नहुने बताएको छ । यसका लागि विभिन्न समिति गठन गरेर आयोजनाको स्वामित्व बाँडफाँटको प्राविधिक पक्षका विश्लेषण भइसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । प्राधिकरणले सम्भावित नयाँ पीपीए दर, आयोजनाको स्वामित्व हस्तान्तरण, कम्पनीको प्रवन्धपत्र नियमावली, आर्थिक तथा वित्तीय विश्लेषण लगायतका पक्ष्मा अध्ययन गरेर प्रतिवेदन तयार गरिसकेको छ ।

‘महामारकिा कारण हिमाल पावरका लगानीकर्ताहरु नेपाल आउन नसक्दा केही ढिलाइ भएको हो,’ घिसिङले भने,’हामी छिट्टै टुंगो लगाउने तयारीमा छौं ।’

सम्बन्धित समाचार