चीन जोड्ने सडकमा जमेको हिउँ पन्छाउन सुरू



पर्वत । जोमसोम–कोरला सडक खण्डमामा जमेको हिउँ पन्छाउन थालिएको छ। छिमेकी चीनसँग जोड्ने सडकमा जमेको बाक्लो हिउँ पग्लिन लामो समय लाग्ने भएपछि बुधवारदेखि एक्स्काभेटर प्रयोग गरेर हिउँ फाल्न थालिएको हो।

लो घेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष टै धुन्टु ठकुरीले माघ २० गते रातिदेखि भएको हिमपातका कारण सडकमा बाक्लो हिउँ जमेको छ। चराङ गाउँबाट वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको समर गाउँसम्मको झन्डै ५० किलोमिटर सडकको हिउँ पन्छाउन मान्छेबाट सम्भव नभएपछि एक्स्काभेटर प्रयोग गरेर अवरुद्ध सडकलाई पुनः सञ्चालनमा ल्याउन लागिएको हो।

‘यसअगाडि पुस २४ गते पनि हिमपातका कारण सडक अवरुद्ध भएपछि गाउँपालिकाले नै बजेट छुट्टाएर सडकको हिउँ फालिएको थियो। अहिले माघ २० गते परेको हिमपात निकै बाक्लो गरी सडकमा जम्मा भयो,’ उनले भने, ‘हिउँ फालेर नसकेसम्म बाटो चल्ने अवस्था छैन। हिमपातका कारण नेपाल र चाइनाको सिमाना पुग्ने यही सडक नै अवरुद्ध भएपछि गाउँपालिकाले काम गरेको हो।’

मुस्ताङमा सामान्य खालको हिमपात पटक–पटक भए पनि सडक नै अवरुद्ध गर्ने गरी यति बाक्लो हिमपात दुई पटक भएको हो। पुस १४ गते भएको हिमपातले एक साता सडक अवरुद्ध भएको थियो। दोस्रो पटक माघ २० गते भएको हिमपातले पनि एक साताभन्दा लामो समय सडक अवरुद्ध भएको छ। दोस्रो पटकको हिउँ फाल्न बुधवारदेखि सुरु गरिए पनि बिहीबार साँझ वा शुक्रवारसम्ममा मात्रै सकिने वडाध्यक्ष ठकुरीको भनाइ छ।

गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको विशेष पहल तथा उपाध्यक्ष ढोका गुरुङसहित पाँच वटै वडाका वडाध्यक्षहरूको समन्वयमा हिउँ पन्छाउने काम थालिएको हो।

सम्बन्धित समाचार